तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयन नभएको गुनासो

काठमडौं । महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गर्नुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागी वक्ताहरुले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा कृषि, साना उद्यमलगायतका विभिन्न क्षेत्रमा सरकारले सहुलियत दरमा ऋण दिने सरकारी व्यवस्था भएपनि यो सुविधा लिनबाट लक्षित वर्ग नै बञ्चित भएको गुनासो गर्नुभएको हो ।

कार्यक्रमको उदघाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले रेमिट्यान्सले देश चल्न नसक्ने भएकोले उद्योग व्यवसायको विकासमा जोड दिनुभयो ।

उहाँले उद्योग व्यवसायको विकासबाट स्वरोजगारीका अवसर सिर्जना गर्न सकेमात्रै देशको अर्थतन्त्रलाई दिगो विकासतर्फ अग्रसर गराउन सकिने बताउनु भयो ।

साना, मझौला र ठूला उद्योग व्यवसायमा महिलालाई पनि समेट्दै लैजानुपर्ने सुझाव दिंदै राज्यमन्त्री दुगडले उद्योग व्यवसायमा पुरुषको तुलनामा महिला झनै शक्तिशाली हुन्छन् भन्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सरकारले तोकेको क्षेत्र र सीमाभित्र सहुलियत ऋण नदिने बैंकलाई कारबाही गर्ने बताउनुभयो ।

उहाँले १५ लाख रुपियाँसम्मको कर्जामा कुनै पनि धितो राख्न नपर्ने भन्दै बैंकको कष्ट अफ फण्डमा २ प्रतिशत मात्रै मुनाफा जोडेर बैंकले ब्याज निर्धारण गर्ने व्यवस्था गरेको बताउनु भयो ।

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले नेपालले खास गरी हाल कायम रहेका उद्योगहरुलाई संरक्षण गर्ने कार्यक्रमहरु त्यति प्रभावकारी रुपमा सञ्चालन नगरेको बताउनु भयो ।

महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले महिला उद्यमीहरुको लागि ऋण लिन खोजेको र आवश्यक सबै कागजात पेश गर्दा पनि तीन महिना भन्दा बढी समयदेखि राष्ट्रिय वाणिज्य बैंकले ८० वटा ऋणको फाइल रोकेर राखेको बताउनुभयो ।

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेको छ । यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपियाँसम्म ऋण पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button