तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण जुम्लाको नाग्म गमगडी सडक एक हप्तादेखि अवरुद्ध

जुम्ला । नेपालकै पर्यटक आकर्षणको केन्द्र मानिने रारा ताल जाने एक मार्ग हो नाग्म गमगडी सडक । हिउँदमा हिलो र बर्खामा धुलोले पर्यटक अन्य यात्रुले सास्ती पाईरहेका छन् । तर हिमपातका कारण गएको एक हप्तादेखि नाग्म गमगडी सडक अवरुछ भएपछि आवतजावत बन्द भएको छ ।

सडकखण्डको घुचिलेकमा अत्याधिक हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । पटक पटक अवरुद्ध हुदँै आएको नाग्म गमगडी सडक भ्रमण वर्षका बेला बन्द हुँदा सयौँ पर्यटक प्रभावित भएको स्थानीय सर्पजित बुढाले बताउनुभयो ।

उहाँका अनुसार सडक अवरुद्ध हुँदा अधिकांश पर्यटक अहिले सिंजा गुठिज्युलामै बस्ने गरेका छन् । पर्यटकिय मार्ग मानिने उक्त सडक ग्राभेल समेत नहुँदा सास्ती पाएका स्थानीयहरु अहिले हिमपातले हप्तादिन सम्म अवरुद्ध हुँदा अत्याआवश्यक कामका लागि पनि यात्रा गर्न नपाएको मुगुका स्थानीय नन्द रोकायाको गुनासो छ ।

भ्रमण वर्षकै बेला हप्ता दिन सम्म सडक अबरुद्ध हुँदा रारा आउने पर्यटक घटेका छन् । यस विषयमा स्थानीय सरकारहरुले खास्सै चासो भने नदिएको उहाँकोे गुनासो छ । नाग्म गमगडी सडकमा भईरहेको ग्राभेलको काम बीचमै अलपत्र भएपछि झनै सास्ती भएको छ ।

हिउँ पन्छाएर सडक खोल्ने तयारी
कर्णालीमा भएको भारी हिमपातले अवरुद्ध पर्यटकिय मार्ग नाग्म गमगडी सडक हिउँ पन्छाएर खोल्ने तयारी भईरहेको छ । विगत एक हप्तादेखि अवरुद्ध सडक खोल्नका लागि चार दिनदेखि डोजरले गुच्ची लेकको हिउँ पन्छाईरहेको सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार मौसम खुलेको दिनदेखि हिउँ पन्छाउन शुरु गरिएको हो । चार दिन भर्ईसक्यो, अझै धेरै बाँकी छ । छिटो छिटो पन्छाएर कम्तीमा तीन /चार दिन भित्र सडक सञ्चालनमा ल्याउने गरी काम भईरहेको उहाँको भनाई छ ।

एकै डोजर प्रयोग गरेका कारण ढिला भएको हो । उहाँले भन्नुभयो, कार्यालयमा भएको दुई डोजर मध्ये एक कार्यालयमै अन्य तत्तकालिन कामका लागि राखिएको छ ।

केहिदिनमा सडक खुलेपनि सडकमा हुन सक्ने अवरोध हटाउनका लागि एक डोजरलाई नाग्म गमगडी सडक खण्डमै तैनाथ राखिने भएको छ ।

भ्रमण वर्षकै बेला प्राकृतिक कारणबस सडक बन्द भयो, पर्यटकहरुका लागि दुखको बिषय भयो । हिउँ पन्छाउने काम जारी भएकाले नआत्तिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button