तपाईँ सुन्दै हुनुहुन्छः

पाम तेलको प्रतिबन्ध हटाइदिन भारतसंग आग्रह

काठमाडौं । पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपाल सरकारले भारत सरकारलाई औपचारिक आग्रह गरेको छ ।

भारतले प्रतिबन्ध गरे लगत्तै थालिएको अनौपचारिक छलफलबाट समस्या समाधान नभएपछि पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पाम तेलको निर्यात पूर्ववत गर्ने व्यवस्था गर्न कुटनीतिक च्यानलमार्फत भारत सरकारलाई औपचारिक अनुरोध गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयल द्विपक्षीय तथा क्षेत्रीय ब्यापार महाशाखा प्रमुख सह–सचिव नवराज ढकालले जानकारी दिनु भयो ।

उहाँले पाम तेलको प्रतिबन्ध फुकुवाबारे कुटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको पनि जानकारी दिनु भयो ।

बाणिज्य मन्त्रालयकोे आग्रह बमोजिम पाम तेलको प्रतिबन्ध हटाइदिन भारतलाई कुटनीतिक पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौड्यालले जानकारी दिनु भयो ।

गत पुस २३ गते भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो ।

भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल नेपाल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली ब्यापारी मर्कामा परेका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ भने भारततर्फ ११ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ ।

भारतमा भन्दा नेपालमा पाम तेल सस्तो पाउने भएपछि भारतीय व्यवसाययीले नेपाली बजारबाट तेल किन्न थालेका थिए । भारतले प्रतिवन्ध लगाएका कारण पाम तेलमा गरेको लगानी समस्यामा परेको उद्योगीहरुले बताउका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button