तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको फलेवासमा धान व्लक

पर्वत -पर्वतको फलेवास नगरपालिकाका ३ वटा समेटेर धान व्लक कार्यक्रम शुरु भएको छ । फलेवास नगरपालिका ४ मुडिकुवा, वडा नम्बर ६ देबिस्थान र वडा नम्बर १० कुर्घामा धान व्लक क्षेत्र बिस्तार भएको हो ।

धानको उत्पादन बृद्धि गर्न, व्यवसायिक रुपमा धानको क्षेत्र बिस्तार गर्न र स्थानीय जातको धानबालीलाई संरक्षण गर्ने हेतुले धान व्लक क्षेत्र बनाईएको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । ज्ञान केन्द्रका अनुसार धान व्लक क्षेत्रमा ५ सय हेक्टर जमिन समाबेश छ । किसानहरुको भेला मार्फत व्लक सञ्चालक समिति गठन गरि धान खेती गर्ने जमिन छनौट गरिएको छ ।

तिन वटा वडाका १३ सय घरधुरीका किसान व्लक क्षेत्रमा समाबेश भएका कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालले जानकारी दिनुभयो । कार्यालयले व्लक सञ्चालक समिति मार्फत बाँडफाँड गर्ने गरि आवश्यक मिनीटिलर हलो, सिँचाईको कुलो, प्रसोधन उद्योग, मल, बीउ लगायतका शिर्षकमा ५० लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको अर्यालले जानकारी दिनुभयो ।

किसानहरुले पछिल्लो समय उन्नत जातका र सिफारिस नगरिएको धानको बीउ रोप्ने गरेका छन् । यसले गर्दा जिल्लामा रैथाने जातमा पर्ने जेठोबुढो, एक्ले, विरम्फुले, मन्सरा, आँगा, थापाचिनी लगायतका धान हराउँदै गएका छन् ।

व्लक क्षेत्रमा यस्ता लोप भएका धानको बीउ लगाउने तयारी रहेको धान व्लक सञ्चालक समितिका अध्यक्ष बलराम भुसालले जानकारी दिनुभयो । उहाँले किसानहरुलाई सरकारले रैथाने धानबाली जोगाउन प्र्रेरित गरिरहेको भन्दै फलेवासका किसानहरु यो कार्यक्रम बाट उत्साहित भएको बताउनुभयो ।
पर्वतमा धान जोन कार्यक्रम पनि चालु वर्ष कार्यान्वयन गरिएको छ ।

कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका १५ वडा समेटेर धान जोन कार्यक्रम कार्यान्वयन भैसकेको छ । फलेवास वाहेक पैयुँ गाउँपालिकामा पनि धान व्लक क्षेत्र बिस्तार भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार ७० हेक्टरमा वर्षे र दुई हजार हेक्टरमा चैते धानको खेती हुँदै आएको छ । जोन र व्लक कार्यक्रमले आगामी वर्ष २० प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button