तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी र सरकारविरुद्ध प्रचार युद्धको जवाफ उपलब्धि र नतिजाबाट दिइने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी–नेकपा केन्द्रिय कमिटीको बैठक आजदेखि  काठमाडौँमा सुरु भएको छ ।  बैठकमा, अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिबेदन, महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिबेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय गरिएको छ ।

यसैगरी बैठकमा नेकपाका प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशका संगठनात्मक कामको रिपोर्टिङ गर्नुहुने छ ।

तात्कालिन नेकपा एमाले र तात्कालिन नेकपा माओबादी केन्द्र बीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी भएपछि पहिलो पटक केन्द्रिय कमिटीको बैठक बसेको हो ।

राष्ट्रियसभामा सुरु भएको नेकपा केन्द्रिय कमिटीको बैठकको उदघाटन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर २१ औं शताब्दीसम्म आईपुग्दा मानवजातिले हासिल गरेका उपलब्धिसँगै पार्टी एकीकृत रुपमा अघि बढीरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले इतिहासमा विभिन्न उतार चढाव र विभाजन झेल्दै आएको नेपाल कम्युनिष्ट पार्टीले विगतको समिक्षा गरेर नै पार्टीलाई सबल र समृद्ध बनाउदै अघि बढ्ने संकल्पकासाथ दुई पार्टीबीच एकता सम्भव भएको उल्लेख गर्नुभयो ।

उहाँले अहिले सरकार र पार्टीविरुद्ध प्रचार युद्ध छेडिएको भएपनि बादबिवादबाट नभएर सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आफ्नो पार्टी विश्वव्यापी मान्यतासहितको लोकतन्त्र, शान्ति र मानवाधिकारको आदर्श र अनुभवकासाथ अघि बढीरहेको र बढीरह्ने विश्वास व्यक्त गर्नुभयो । बैठक जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button