तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षालय स्थापना लागि आयोजित महायज्ञबाट ६० लाख रकम संकलन

स्याङ्जा । प्राविधिक शिक्षा सञ्चानार्थ आयोजित महायज्ञमा ६० लाख रकम संकलन भएको छ । जनप्रिय माध्यमिक विद्यालय भीरकोट नगरपालिका ५ स्वरेक सिम्लेमा प्राविधिक शिक्षाका लागि आयोजित श्रीमदभागवत धनधान्याञ्चल ज्ञानमहायज्ञमा ६० लाख रकम संकलन भएको हो ।

कक्षा १० सम्म पठनपाठन हुँदै आईरहेको विद्यालयमा विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि कक्षा ११ र १२ मा प्राविधिक शिक्षालय स्थापना र आवश्यक पुर्वाधार निर्माणका लागी माघ ७ गतेदेखि महायज्ञ सञ्चालन गरिएको थियो ।

मंगलबार महायज्ञको समापन गर्दै पुर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा व्यवहारिक र सिपमुलक हुनुपर्ने बताउनुभएको छ ।

नेपालमा पछिल्लो समय शिक्षा प्रणालीमा सुधार देखिएको भन्दै सर्टिफिकेटमा मात्रै सिमित हुने शिक्षाको अन्त्य हुनुपर्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “प्राविधिक शिक्षाले नै युवालाई विदेश पलायन हुनबाट जोगाउँछ । प्राविधिक तथा सिपमुलक शिक्षा आजको आवश्यकता हो ।” महायज्ञ ज्ञानसँग जोडिएको भन्दै पुर्वमन्त्री श्रेष्ठले महायज्ञबाट संकलित रकमको उचित सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख छायाराम खनालले आगामी वर्षबाट विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि नगरपालिका तयार रहेको बताउँदै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांगे्रसका क्षेत्रीय सहसभापति अर्जुनप्रकाश अर्याल, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल, नेकपाका भीरकोट नगरसचिव विश्वनाथ अर्याल, महायज्ञका निर्देशक तथा वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारी, पुर्व प्रधानाध्यापक जगनाथ अर्याललगायतले बोल्नुभएको थियो ।

महायज्ञ मुल आयोजक समितिका संयोजक चोलेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रधानाध्यापक राजेन्द्रबहादुर खांण र सालन ख्यामनारायण खनालले गर्नुभएको थियो ।

महायज्ञमा पण्डित देवनयन नारायण लामिछानेले कथा वाचन गर्नुभएको थियो । महायज्ञमा दैनिक योग शिक्षा, हवन तथा कथा वाचन, नैतिक शिक्षा, लक्ष्यवर्ती र भजनकिर्तन प्रस्तुत गरिएको थियो ।

गाउँघरमै प्राविधिक शिक्षा सञ्चालन हुने भएपछि त्यहाँका अभिभावक तथा विद्यार्थी उत्साहित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button