तपाईँ सुन्दै हुनुहुन्छः

क्यान इन्फोटेक फागुन २ गतेदेखि

काठमाडौं । मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२० आगामी फागुनको २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले बुधवार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीका लागि ८० प्रतिशत स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो ।

यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यस अन्तर्गत स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्ने छन् ।

क्यान महासंघले यसका निम्ति सार्वजनिक सुचना निकालेरै स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको छ ।
सहभागिहरुलाई क्यान इन्फोटेकमा बिभिन्न सुबिधाहरु र उत्कृष्टलाई नेश्नल आई सी टी डेज को अवसर पारेर पुरस्कृत गर्ने घोषणा यस अघि नै गरिसकिएको छ ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने त्यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने योजना रहेको अध्यक्ष कुँवर बताउनु भयो ।

यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् ।

दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिनु भयो ।

यो वर्ष क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिने कार्यक्रम अनुसार प्रदेश १ को इटहरी र प्रदेश २ को वीरगञ्जमा क्यान इन्फोटेक सफलतापूर्वक सम्पन्न भैसकेको छ भने अन्य स्थानमा निकट भविष्यमा आयोजना गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button