तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो व्यासनगर अल्ट्रा म्याराथनको उपाधी सोलुखुम्बुका कुलुङलाई (फोटोफिचर)

तनहुँ । तेस्रो व्यासनगर अल्ट्रा म्याराथनको उपाधी सोलुखुम्बुका महाकुलुङ गाउँपालिका ५ का २८ वर्षीय सुमन कुलुङले जित्नुभएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं ५ मानहुँकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको कुलुङले २ घण्टा ५९ मिनेटमा पुरा गर्दै उपाधी जित्नुभएको हो ।

त्यस्तै ३ घण्टा २ मिनेटमा उक्त दुरि पार गर्दै कालिकोट रास्कोट नगरपालिका ६ का २३ वर्षीय देवराज महतरा दोस्रो हुनुभएको छ ।

त्यस्तैगरी भोजपुर सणानन्त नगरपालिका १० का ३३ वर्षीय तिर्थ तामाङले उक्त दुरि ३ घण्टा ३ मिनेटमा पुरा गर्दै तेस्रो हुन सफल हुनुभएको छ । महतरा र तामाङ त्रिभुवन आर्मी क्लबमा आवद्ध हुनुहुन्छ ।

प्रतियोगितामा क्रमश प्रथम हुनेले नगद रु.८१ हजार ७६ रुपैयाँ, दोस्रो हुनेले नगद रु. ६१ हजार ७६ रुपैयाँ र तेस्रो हुनेलाई नगद रु.५१ हजार ७६ रुपैयाँ संगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा धादिङका पुर्ण तामाङले ३ घण्टा १८ मिनेटमा उक्त दुरि पार गर्दै चौथो, भोजपुरका सरिन तामाङ ले ३ घण्टा १८ मिनेट ४० सेकेन्डमा उक्त दुरि पार गर्दै पाचौं, रामेछापका गोपाल तामाङले ३ घण्टा २३ मिनेटमा उक्त दुरि पार गर्दै छैटौं, गोरखाका सयुङराज गुरुङले ३ घण्टा ३२ मिनेटमा उक्त दुरि पार गर्दै सातौं र स्याङ्जाका निराजन गुरुङले ३ घण्टा ४४ मिनेटमा उक्त दुरि पार गर्दै आठौं भएका छन् ।

सान्त्वना हुने पाँच जनाले नै जनही १६ हजार रुपैयाँ, ट्रफी र मेडल पाएका छन् ।

व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यासनगर अल्ट्रा म्याराथन आयोजना गरेको हो । व्यास नगरपालिकाले हरेक वर्ष सहिद दिवसका दिन अल्ट्रा म्याराथन गर्दै आइरहेको छ ।

सहिद दिवसको सन्दर्भमा आयोजित म्याराथनले सहिदहरुको सम्मान र खेलकुदमार्फत व्यास नगरपालिकालाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन सकिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले नेपाल सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० को लागि समेत उक्त प्रतियोगिताले सहयोग पुर्याउने बताउनुभयो । म्याराथनले गर्दा अहिले मानहुँकोट र पुलिमराङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको उहाँको भनाई छ ।

साथै उक्त ठाउँको जमिनले समेत राम्रो मुल्य पाईरहेको प्रमुख न्यौपानेले बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पर्यटकीय गाउँ मानहुँकोट र शहिद गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताउनुभयो ।

तेस्रो व्यास नगर अल्ट्रा म्याराथनमा स्थानीय र अन्य जिल्लाका गरि ६४ जना धावकले सहभागि भएका थिए । अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागी धावकहरु समेत म्याराथनमा सहभागी भएका थिए । गतवर्ष एक सय पाँच जनाले सहभागिता जनाएका थिए ।

म्याराथनको उद्घाटन गर्नु हुँदै पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले खेलकुदले पर्यटन प्रवर्द्धन गर्ने सघाउने बताउनुभयो । उहाँले व्यास नगरपालिकाले खेलकुदलाई महत्वपुर्ण स्थान दिएको बताउनुभयो ।

तनहुँको व्यास नगरपालिका वडा नं ५ मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहेको थियो ।

म्याराथन मानुङ्गकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनीकुमालटारी–दुम्सी खहरे –कलेस्ती–पाथ्रा–सत्रसय–कालिका मार्ग हुँदै बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button