तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा जानेलाई युवालाई बिना धितो ऋण प्रवाहको शुभारम्भ

जनकपुरधाम । प्रदेश सरकारको समन्वयमा प्रदेश नं. २ बाट बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत दरमा ऋणको आजदेखि शुभारम्भ गरिएको छ ।

प्रदेश सरकार , सिप परियोजना र प्रभु बैंक बीच बैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउनका लागि भएको सम्झौता अनुसार प्रभु बैंकले आजबाट युवाहरुलाई सहुलियत दरमा ऋण प्रदान गर्न थालेको हो ।

जनकपुरधाममा आयोजना गरिएको एक कार्यक्रमका बीच प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. २ का नौ जना युवाहरुले पहिलो दिन सहुलियत दरको कर्जा प्राप्त गर्नु भएको छ ।  कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा शुरु भएको यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतालाई केही हदसम्म समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सिप सिकेर जानु पर्ने आवश्यकतामा जोड पनि दिनुभयो । मुख्यमन्त्री राउतले सिप र ज्ञान भएको खण्डमा यूवाको घरमा नै रोजगारी आउने धारणा पनि राख्नुभयो ।

यस अघि एसबिआई बैंकले हिजो मात्र यो वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि कर्जा कार्यक्रमको शुभारम्भ गरेको थियो ।

प्रदेश सरकार, सिप परियोजना र प्रभु बैक तथा एसबिआई बैंक बीच साउन महिनामा बैदेशिक रोजागरीमा जाने युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । सोही सम्झौता अनुरुप बैंकहरुले यो ऋण सेवा शुरु गरेका छन् ।

प्रभु बैकले यो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा दिने छन भने बाँकीको सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले सेवा दिने सम्झौता प्रदेश नं २ का सरकारसँग गरेको छ ।

यस योजना अन्तर्गत बैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने वितिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटोसहित निवेदन दिनु पर्ने प्रावधान रहेको छ ।

सो लगतै बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाममा बचत खाता खोली दिने र भिसा लागेपछि , भिसा , श्रम सम्झौता बैँकमा जम्मा गरेपछि पाँच दिन भित्र कर्जा उपलब्ध गराउने सहमतिमा उल्लेख रहेको छ ।

खास गरेर प्रदेश नंं २ मा चेतनाको अभाव भएका कारणले वैदेशिक रोजगारीमा जादा साहु महाजनसँग चर्को व्याजमा रकम लिने गरेकोमा यस सम्झौता कार्यान्वयन भएपछि रोजगारीमा जाने युवाहरुलाई निक्कै फाईदा पुग्ने भएको छ ।

धनुषा, महोत्तरी तथा सिरहावाट भारी संख्यामा युवाहरु वैदेशिक रोजगारीमा गएका छन् ।

बैंकका सिइओ मणिराम पोखरेलको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, डिफिडका रोब क्लर्क, सिप परियोजाका बलजित बोहरा सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button