तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा विहिवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाउने बताउनुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताउनुभयो । उहाँले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको धारणा राख्नुभयो । मन्त्री बाँस्कोटाले एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसद्बाट पारित गराउन लागेको जानकारी दिनुभयो ।

उहाँले एमसीसी ऊर्जा र कनेक्टिभिटीसँग जोडिएको र सामरिक महत्वको विषयहरु समावेश नभएको बताउँदै अमेरिकन काँग्रेसले समेत सहमति जनाएकाले संसद्बाट पारित गराउनुको कुनै विकल्प नभएको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले सरकार सञ्चार क्षेत्रलाई सबल र व्यवस्थित बनाउने कार्यमा क्रियाशील भईरहेको र योसँग सम्बन्धित ऐनहरु बनाउने प्रक्रिया थालिएको जानकारी दिनुभयो ।

उहाँले कोरोना भाइरसबाट प्रभावित भएको मित्र राष्ट्र चीनको वहानमा रहेका नेपाली सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो । मन्त्री बाँस्कोटा सुनसरीको इटहरीमा स्थापना गरिएको नेपाल टेलिभिजनको पाँचौँ च्यानल एनटिभी इटहरीको उद्घाटनमा सहभागी हुन आज साँझ विराटनगर आउनुभएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button