तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवद्र्धन गर्न सडक स्तरोन्नति

कञ्चनपुर-आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकको स्तरोन्नतिको कार्यमा जोड दिन थालेको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति गर्न थालेको हो ।

पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने र पदमार्ग निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिताल झर्ना, विष्णु मन्दिर र रौटेला धार्मिक पर्यटकीय क्षेत्र जोड्ने सडक स्तरोन्नतिको कार्य गरिएको उहाँले बताउनुभयो । पर्यटकलाई लक्षित गरी ताराकोटदेखि पर्यटकीय क्षेत्र झिलमिला जाने एक किलोमिटर पदमार्ग निर्माण गरिएको छ ।

सांसद बिकास कोषको रु १० लाखको लागतमा दुई मिटर चौडाइको पदमार्ग निर्माण गरिएको हो । वडा कार्यालयको बजेटमा रु १० लाखको लागतमा झिलमिला तालको परिक्रमा पथसमेत निर्माण गरिएको वडा अध्यक्ष राम नाथले जानकारी दिनुभयो ।

झिलमिला तालको सौन्दर्य हेर्न जाने पर्यटकको सुविधाका लागि पाँच किलोमिटर सडक कालोपत्रे गर्ने कार्यसमेत पूरा भएको छ । झिलमिला ताल रङ बदल्ने तालका रुपमा परिचित रहेको छ । पर्यटकको सहजताका लागि धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरा पुग्ने सडक कालोपत्रे गर्ने कार्य कार्य शुरुआत भएको छ । त्रिपुरा क्लबदेखिको सडकसमेत रु १५ लाखको लागतमा वडा कार्यालयले कालोपत्रे गर्ने कार्य शुरुआत गरेको छ ।

पर्यटकीय वर्षलाई नै लक्षित गरी विश्वकर्म मन्दिरको पर्खाल निर्माणको कार्यसमेत गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मल्टिस्पान झोलुङ्गे पुललगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटक र सर्वसाधारणका लागि वडा नं १६ मा रु एक करोड ४० लाखको लागतमा डेढ किलोमिटर सडक कालोपत्रे गरिएको छ । मझगाँउ विमानस्थलतर्फ जाने सडक कालोपत्रे गरिएको हो ।

यसबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुल हेर्न जाने पर्यटकका लागि सडक कालोपत्रे भएपछि सजता भएको छ । पहिला सडकको अवस्था बिग्रँदो अवस्थामा रहँदा पर्यटकले निकै सास्ती खेप्दै आएका थिए । पर्यटक र सर्वसाधारणको असहजतालाई महसुस गरी सडक कालोपत्रे गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button