तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजान्छौँ : मन्त्री अर्याल  

काठमाडौँ –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताउनुभएको छ ।

शहीद स्मारक जनस्वास्थ्य क्याम्पस सिफलको ११औँ वार्षिकोत्सवमा उहाँले नेपाली माटोमा सुन फलाउन सकिने भन्दै दक्ष जनशक्तिविना मुलुकको कायापलट सम्भव नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसङ्ख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको जानकारीसमेत दिनुभयो । मन्त्री अर्यालले तालिम प्राप्त व्यक्तिले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा आयस्तरमा वृद्धि गरि सहज जीवनयापन बिताइरहेको बताउनुभयो ।

उहाँले क्याम्पसले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन जोड दिनुभयो । दक्ष जनशक्तिलाई विदेश पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाको खोजी गरिनुपर्ने उहाँले बताउनुभयो ।

“अब हामीले हाम्रो ज्ञान बिक्री गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको छ ।” प्राविधिक शिक्षा बोली खानेभन्दा पनि गरिखाने शिक्षाका रुपमा परिचित भएको भन्दै उहाँले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button