तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्ष लगायतलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

अछाम । अछाममा छाउगोठ भत्काउने अभियानलाई असहयोग गर्दै वडा अध्यक्षलाई जातीय गालीगलौज गर्ने शिक्षक पक्राउ परेका छन् ।

अछामको चौरपाटी गाउँपालिका वडा नं.४ पायलको मष्टामाण्डौ आधारभूत विद्यालयका शिक्षक खम्म धामीलाई जातीय गालीगलौज गरेको आरोपमा अछाम प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।

चौरपाटी गाउँपालिका वडा नं.४ पायलका वडा अध्यक्ष हर्क लुहारले गत माघ ११ गते छाउगोठ भत्काउने क्रममा धामीले असहयोग गर्नुका साथै आफूलाई जातीय गालीगलौज गर्दै अपमान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता गर्नुभएको थियो ।

अछामका प्रहरी प्रमुख डीएसपी दिपक भारतीका अनुसार वडा अध्यक्ष लोहारको मुद्दा परेपछि धामीलाई जिल्ला सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको हो ।

डीएसपी भारतीले घटनाबारे थप अनुसन्धान भइरहेको र आरोपितलाई छिट्टै अदालत पेश गरिने बताउनुभयो ।

शिक्षकजस्तो व्यक्तिले सामाजिक कुप्रथा अन्त्यमा सहयोग गर्नुको साटो असहयोग गरेको भन्दै यस कार्यको विरोध भएको थियो । शिक्षक धामीले आफुले दुव्र्यबहार नगरेको तथा छाउगोठ भत्काउने कार्यमा असहयोग नगरेको समेत बताउनु भएको थियो । तर वडाअध्यक्ष लुहारले प्रहरी कार्यालयमा उजुरी गरेपछि धामीलाई पक्राउ गरिएको छ ।

अभियान अन्तरगत वडा नम्बर ४ पायलमा मात्र एक सय छ छाउगोठ भत्काएको छ भने चौरपाटी गाउँपालिकामा सबैभन्दा बढी आठ सय ५३ छाउगोठ भत्काईएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button