तपाईँ सुन्दै हुनुहुन्छः

छाउगोठ भत्काउन गएका प्रहरीमाथि आक्रमण गर्ने महिला पक्राउ

अछाम । अछाममा छाउगोठ भत्काउन गएका प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धनादेवि साउदलाई प्रहरीले नियन्त्रणमा लिएको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले बताउनुभयो ।

साउदको प्रहारबाट प्रहरी हवल्दार धनबहादुर कैलाको मेरुदण्डमा चोट लागेको छ । हवल्दार कैलाको स्थानीय स्वास्थ चौकीमा उपचारपछि प्रहरी चौकी जयगढ पठाइएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाबाट शनिवार स्थानीय जनप्रतिनिधि, महिला अगुवा, स्वास्थ्यकर्मी लगायतको टोली छाउगोठ भत्काउने अभियानमा गएको थियो ।
साउदलाई शनिबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

महिलामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । अछाम प्रहरीले हालसम्म अछाममा चार हजार सात सय ३३ वटा छाउगोठ भत्काईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button