तपाईँ सुन्दै हुनुहुन्छः

आर्मीद्वारा पुलिस क्लब चार–दुई गोलले पराजित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४–२ गोलले पराजित गरेको छ ।

खेलमा २ पटक पछाडि परेपनि आर्मीले अन्तिम समयमा सानदार प्रदर्शन गर्दै जित हासिल गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले २ तथा सुदिल राई र सुमन अर्यालले १–१ गोल गरे ।

पुलिसका लागि बुद्ध बल तामाङ र मानबहादुर परियारले अग्रता दिलाएका थिए ।

यस जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको १० खेलमा २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ ।

अर्को खेलमा नाइजेरियन फरवार्ड अजायी मार्टिन्स कायोडेको गोलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई १–० गोलले पराजित गरेको छ ।

खेलको २१ औं मिनेटमा मार्टिन्सले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।

यस जितसँगै संकटा अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । संकटाको १० खेलमा ४ जित, ३ बराबरी र ३ हारसँगै १५ अंक भएको छ । यता शेर्पा भने १० खेलमा ७ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button