तपाईँ सुन्दै हुनुहुन्छः

‘साइलेक्स’ उत्पादनका लागि २०० बिघामा मकैखेती

झापा । मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ ।

झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन सङ्घको नेतृत्वमा मकैखेती गरिएको हो ।

सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभयो ।

विगत तीन वर्षदेखि सानो परिमाणमा साइलेक्स उत्पादन गर्दै आए पनि सङ्घले प्रदेश सरकारको आर्थिक सहयोगमा ठूलो परिमाणमा उत्पादन शुरु गर्न लागेको हो । साइलेक्स उत्पादनका लागि प्रदेश सरकारले आठ करोड अनुदान दिने भएको छ भने सङ्घमा आबद्ध किसानको चार करोड थप गरी १२ करोडको लागतमा अत्याधुनिक उपकरण ल्याउन लागिएको छ ।

जर्मनीबाट क्यासिक कम्पनीको ‘फूल अटोमेटिक’ यन्त्र खरिद गर्न लागिएको अध्यक्ष सिटौलाले बताउनुभयो ।

नेपालमा हाल भारतको पञ्जावबाट प्रतिकिलो १८ मा साइलेक्स आयात हुने गरेको छ । सङ्घले उत्पादन गरेको साइलेक्स प्रतिकिलो १२ देखि १३ सम्म पर्नेछ । यो वर्ष एक करोड किलो साइलेक्स उत्पादन गर्ने सङ्घको लक्ष्य छ ।

अत्याधुनिक यन्त्र भित्रिएपछि वार्षिक चार करोड किलो साइलेक्स उत्पादन गर्न सकिने अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button