२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

विश्व निकेतन माविमा विज्ञान प्रदर्शन

रासस २०७६ माघ १९ गते १९:१५

काठमाडौं । विश्व निकेतन मावि त्रिपुरेश्वरको ७४ औँ वार्षिकोत्सव  समारोहका अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा कक्षा १२ मा अध्ययनरत रोहित चौधरीको समूहले ब्लुटुथ कार राखेको थियो । मोबाइलबाटै नियन्त्रण गरी चलाउन सकिने गरी निर्मित खेलौना आकारको कार हेर्नेको भीड लागेको थियो । मोबाइलकै सहायताले टेबलमा राखिएको कार दौडिन्थ्यो । त्यस्तै अभियान खड्काको समूहले सोलार केबलकार प्रदर्शन गरेको थियो । “घाम परेपछि सोलार प्यानल तात्छ र ब्याट्री चार्ज हुन्छ”, खड्काले भन्नुभयो, “ब्याट्री तातेपछि केबलकार चल्छ, केबलकार चलेपछि बिजुली उत्पादन हुन्छ ।” प्रमोद विकको समूहले भने मिसाइल लञ्चर प्रदर्शनमा राखेको थियो ।

विद्यार्थीले आफैँ निर्माण गरेका विभिन्न थरीका आविष्कारका नमूनाले दर्शकको ध्यान तानेको थियो । अभिषेक ठाकुरको समूहको स्मार्ट हाउस पनि प्रदर्शनीमा थियो जसमा खाद्य सामग्री राख्ने खोल काटेर निर्मित सुन्दर घरमा कागज तथा काठका सामग्री प्रयोग गरी बनाइएका विभिन्न वस्तु थिए । आदित्यकुमार सिंहको समूहले प्राकृतिक रमणीय वातावरणसहितको शहर र नेपालको भौगोलिकताअनुसारको आधुनिक यातायात प्रणालीको समेत परिकल्पना गरेको थियो ।
प्रदर्शनीमा वाटर लेभल इन्डिकेटर, हाइड्रोलिक रोबोट, हाइड्रोलिक पुल, बन्दूक रकेट डोजरलगायत सामग्रीलाई सञ्चालन गर्न मिल्ने गरी प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीले प्रयोगमा आएका इलेक्ट्रोनिक वस्तुलाई सानो आकारको बनाई सञ्चालनमा ल्याएका थिए । कार्यक्रमका अतिथि, अभिभावक तथा अन्य दर्शकले कक्षा ११ र १२ मा विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीले प्रदर्शनीमा राखेका यस्तै थुप्रै विज्ञानका सामग्री अवलोकन गरेका थिए ।

दर्शकहरु विज्ञानमा भरिएको कला हेर्न उत्सुक देखिन्थे । उनीहरु सामग्रीका बारेमा जानकारी लिन्थे भने विद्यार्थी खुशी हुँदै आफूले निर्माण गरेका सामग्रीका बारेमा बताउने गर्थे । विद्यालयका विज्ञान सिफ्ट इञ्चार्ज भरतमणि भट्टराईले विद्यार्थीले अध्ययन गर्ने बेलामा सिकेका सीप र आफ्नै सिर्जना प्रयोग गरेर सामग्री तयार पारेको बताउनुभयो । “खोज, अनुसन्धान र गहिरो अध्ययनको कारण विद्यार्थीहरु विज्ञानका सामग्री निर्माण गर्न सफल भएका हुन्”, उहाँले भन्नुभयो, “निरन्तरको अभ्यासले अझै महत्वपूर्ण समाग्रीको निर्माण र प्रयोग गर्न मद्दत गर्छ ।”

सम्बन्धित

सरकारी मूल्यमा गहुँ खरिद शुरु

१ घन्टा अगाडि रेडियो नेपाल