तपाईँ सुन्दै हुनुहुन्छः

पोखरास्थित तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै

पोखरा। प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् ।

सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य अवलोकन गरेका उनीहरु दिउँसो यहाँका मठमन्दिर, तालतलैया, गुफा, झरना, सङ्ग्रहालयलगायत विभिन्न मनोरम दृश्यावलोकनमा व्यस्त देखिन्छन् । दिनभरि सुन्दर नगरीमा रमाउने पर्यटन साँझमा फेवाताल किनारास्थित तालबाराही मन्दिर प्रवेशद्वार बाराहीघाटमा प्रत्येक दिन हुने आरतीमा सहभागी हुने गरेका छन् । पछिल्ला दिनमा तालबाराहीको आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका पर्यटक एवं स्थानीय बासिन्दाको लागिे अर्को पर्यटकीय गन्तव्य बन्ने गरेको छ ।

पशुपतिनाथको महा आरतीको झ झल्को दिने गरी सङ्गीतमयरुपमा आरती यहाँ सञ्चालन हुने गर्दछ । तीन जना पण्डितद्वारा सन्ध्याआरतीमा विशेष गरी धुप, घ्यू, ल्वाङदानी, कपुर, पुलपाती, मयूर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी धागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने युवा पण्डित रामप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

शङ्खउद्घोषबाट शुरु र अन्त्य गरिने आरतीमा ५४ वटा वत्ती रहने उहाँले जानकारी दिनुभयो । तालबाराहीबाट शुरु भएको आरती अहिले पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर र बेगनासतालमा समेत गरिँदै आइएको छ ।
हालसम्म ४५७ दिन सञ्चालन भइसकेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ साल असोज २४ गते घटस्थापनाका दिनेदेखि सञ्चालन गरिएको आरती निरन्तर चलिरहेको छ ।

‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले चरितार्थ गरेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो, “आरतीको दिगोपनका लािग शुरु गरिएको अक्षयकोषमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।” अक्षयकोषमा रु एक करोड पु¥याउने समितिको लक्ष्य रहेको छ ।

दिनभरिको थकान, तनाव, कोलाहलबाट केही समय पनि एकचित्तरुपमा आत्मशान्तिको लागिसमेत आरतीमा धार्मिक पर्यटनको आकर्षण बढ्दै गएको समितिका सहसचिव तुलसी दाहालले बताउनुभयो । उहाँका अनुसार मुलुकका विभिन्न स्थानबाट पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटक आरतीको दर्शन र ताप्नको लागिनै पटकपटक आउने गरेका छन् । “नित्य पूजाका लागि त जेनतेन आर्थिक सङ्कलन भएको छ”, उहाँले भन्नुभयो,“विशेष गरी तालको किनारामा बालबाराही मन्दिर सामुन्ने खुला आकाशमुनि गरिने आरती पानी पर्दाको समयमा भने भक्तजनलाई अप्ठेरो पर्ने गरेको छ ।”

आरती सञ्चालनमा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रु ७० हजार र पोखरा–६ का जनप्रतिनिधिबाट रु १५ हजार सहयोग प्राप्त भएको जनाइएको छ । तालबाराही मन्दिरलगायत आसपासमा बलेका बत्ती तालको पानीमा देखिने मनोरम दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेका छन् । -रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button