तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बहुगुणकारी कालो धान खेतीप्रति आकर्षित   

फाइल तस्बिर

पाल्पा बहुगुणकारी कालो धानका विशेषता रहेको ‘जी–६० ब्ल्याक राइस’ खेतीप्रति पाल्पाका किसान आकर्षित हुँदै गएका छन् ।  किसानको लगानीमा परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा खेतीप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । यो उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाँदा स्वास्थ्यलाई राम्रो हुने मानिन्छ ।

पाल्पाको रामपुर नगरपालिका र बगनासकाली गाउँपालिका क्षेत्रका किसानले परीक्षणका रुपमा कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ खेती हुँदै आएको हो । दुई वर्षअघि परीक्षण रुपमा लगाइएको कालो धान सफल भएपछि यस क्षेत्रका किसान यो धानबाली खेतीप्रति आकर्षित हुँदै आएका छन् । स्थानीयस्तरमा ब्ल्याक राइसलाई प्रतिकिलो ५०० देखि ८०० सम्म कारोवार हुँदै आएपछि यस अन्नबालीप्रति किसानको आकर्षण बढ्दो छ । नेपालमै कालोधानको उत्पादन हुन थालेको लामो अनुभव छैन । करीब दुई–चार वर्षअघि नै व्यावसायिक रुपमा कालो धानको उत्पादन हुँदै आएको हो ।

रामपुर नगरपालिका–७, मलेङ्गका नारायण भट्टराईले दुई वर्षअघि कालो धान बीउको परीक्षणबाट दुई मुरी धान उत्पादन गर्नुभयो । दुई रोपनी खेतमा पहिलो वर्ष नै राम्रो उत्पादन भएपछि कालो धान खेतीलाई व्यावसायिक बनाउन उहाँ रुचाएका हुन् । कालो धानको चामलको माग शहरी क्षेत्रका होटलमा बढ्दो छ । कम समयमा बढी उत्पादन हुँदा किसानको रोजाइमा कालो धानबाली बढ्दो छ । तीन महिनाको अवधिमा धान उत्पादन हुने र मानव स्वास्थ्यका लागि फाइदाजनक हुँदा यसको खेतीप्रति किसान आकर्षित हुँदै आएको हो । आगामी वर्ष सात रोपनी खेतमा कालो धानबाली लगाउने लक्ष्य भट्टराईको छ ।

दुई रोपनी जग्गामा चार सय किलो धान उत्पादन भएकाले किसान हौसिएका छन् । प्रतिकिलो कालो धानलाई रु छसयमा काठमाडौँबाट बीउ ल्याएर धान खेती गरिएको हो । यो कालो धानबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि खुशी बनेका छन् ।

एउटा व्यक्तिले दैनिक पन्ध ग्राम चामल खानुपर्छ । अन्य चामलका मात्रामा ब्ल्याक राईस मिसाई नियमित रुपमा सेवनले ब्ल्याक राइसको सेवनले क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउने भट्टराईको भनाइ छ । पकाउनुअघि दुई घण्टा भिजाउनुपर्छ । भिजाएको पानीलाई सर्वतका रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अन्य चामलको तुलनामा यो २० देखि ५० प्रतिशतले बढी पौष्टिक एवं लाभदायक रहेको व्यवसायीको भनाइ छ ।

रामपुर नगरपालिका–१०, बर्दलेका जनार्दन पन्तले तीन किलो कालो धान खेतीको परीक्षण गर्नुभयो । राम्रो उत्पादन हुँदा एक रोपनी खेतमा लगाएको कालो धान खेतीबाट दुई मुरीसमेत उत्पादन हुँदै आएको बताउनुभयो ।

बेर्ना सारेको ९० दिनपछि यो धान पाकिसक्ने हुँदा किसान यस बालीप्रति आकर्षित हुँदै आएको हो । स्थानीय तरिकाले उत्पादन गर्दा समेत राम्रो उत्पादन दिने बालीका रुपमा यसलाई लिइन्छ । एसआरई पद्धतिको प्रयोग भएमा दोब्बर उत्पादन हुने किसानको दाबी छ ।

पूर्वमन्त्री लोकेन्द्र विष्टसँग सामाजिक सञ्चालमा कुराकानी गरी कालो धानको खेती गर्न थालेको उहाँले बताउनुभयो । यस धानबाली खेतीलाई आफूले निरन्तर रुपमा उत्पादन गर्ने बताउनुभयो । चामलका रुपमा ब्ल्याक राइसको कारोवार गरिएको छैन ।

बीउका रुपमा धान बिक्री हुँदै आएको बताउनुभयो । पाल्पाको बगनासकाली गाउँपालिकाको आर्यअञ्याङ्गका बलबहादुर गाहाले समेत पाँच किलो कालो धान खरिद गरी व्यावसायिक खेती गर्नुभएको छ । कालो धानबाली उत्पादन गर्ने किसानलाई राज्यले अनुदानको व्यवस्था, धान उत्पादन गर्ने तौरतरिकासम्बन्धी प्राविधिक ज्ञान सीप वृद्धि गर्ने कार्यक्रम नभएकोमा किसान चिन्तित छन् ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालका अनुसार किसानबाट कालो धान खेतीको कार्यक्रमका लागि माग नभएको बताउनुभयो । मागका आधारमा आगामी वर्षका कार्यक्रम समावेश हुने उहाँले बताउनुभयो । जिल्लामा यो आवमा कालो धानबालीसम्बन्धी कार्यक्रम छैन ।

यो चामलमा एन्टी अक्सिडेन्टसको मात्रा ब्लुबेरीभन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुका कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो । यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन सहयोग पु¥याउने किसानको भनाइ छ ।

कालो चामलले पाचन प्रणाली सुधार्नेलगायत धेरै रोगहरुको उपचारमा सहयोग गर्छ । कालो चामल आधुनिक सपरफुड हो । बहुगुणकारी यो धान (चामल) आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ । अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषणका कारण कालो चामलको भात पचाउन समस्या हुने गर्छ ।

परम्परागत रुपमा अन्य धानबाली झैँ कालो धानबालीको पनि उत्पादन गर्न सकिन्छ । परम्परागत शैलीमा धान उत्पादन हुँदा किसान कम समयमा बढी उत्पादन र मूल्य पाउने छन् । नेपालीको मुख्य खानाका रुपमा चामलको भात प्रयोग हुँदै आएको छ । त्यसैले पनि चामलको खपत बढी हुँदै आएको छ ।

बहुगुणकारी चामल ब्ल्याक राइसको सेवनले स्वास्थ्यमा असर नगर्ने भएपछि यसको माग बढ्दो छ । मकै, गहुँ, कोदो, फापर आदिको तुलनामा चामलको प्रयोग बढी छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button