तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाईरसको जोखिमबाट जोगिन सिमा क्षेत्रमा हेल्प डेस्क

बीरगंज । मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार नाकामा चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै आजबाट जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा सिमा क्षेत्रमा हेल्प डेस्क राखिएको छ ।

जनस्वास्थ्य कार्यालय पर्सा मार्फत बीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले हेल्प डेस्क सञ्चालनमा ल्याएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

कोरोना भईरस विरुद्ध नेपाल भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउनका लागि पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा चेतना मुलक कार्यक्रम सञ्चालन गर्न तथा बिद्यालयस्तरमा समेत सचेतना कार्यक्रम गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।

नेपाल भित्रिने मुलुकको प्रमुखद्वार वीरगंजस्थित सिमा क्षेत्र तथा बारा, पर्सासहित तराईको भूभाग भारतसँगको खुला सीमा जोडिएकोले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा आजबाट स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी भारतीय तथा विदेशी पर्यटक भित्रिने बीरगंज रक्सौल नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको बीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले बताउनुभयो ।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर प्रसाद चौरसियाले जानकारी दिनुभयो ।

सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।

यसैबीच नारायणी अस्पालमा कोरोना भाइरसको शंकास्पद बवरामी आएमा उपचारका लागि आजबाटै आईसुलेन्स वार्ड समेत सञ्चालनमा ल्याईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button