तपाईँ सुन्दै हुनुहुन्छः

सिमकार्डको विषयमा झगडा हुँदा महिलाको हत्या, चार जना पक्राउ

जनकपुरधाम । धनुषा जिल्लामा मोवाईलको सिम कार्डको विषयमा झगडा भएपछि एक जना महिलाको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले एक्कै परिवारका चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

धनुषा जिल्लाको औरही गाउँपालिका वडा नंं २ घर भएका अनिल कुमार पासवानको श्रीमती वर्ष २२ को चिन्तामणि पासवानको हत्या गरेको अभियोगमा प्रहरीले मृतहका श्रीमान, सासु, ससुरा तथा नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

प्रहरीद्वारा पक्राउ पर्नेमा बर्ष ४५ को सासु कुमला पासवान, वर्ष २० की नन्द पुनिता पासवान, वर्ष ५५ का ससुरा राधाकृष्ण पासवान तथा वर्ष ३० का श्रीमान अनिल कुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुलाई लुकी छिपी रहेको अवस्थामा आज जनकपुर तथा औरहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आजै पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।

मोवाईलको सिमकार्डको विषयमा माघ १८ गते दिउँसो १ बजे मृतक चिन्तामणि पासवान तथा नन्द पुनिता पासवानको विषयमा झगडा हुँदा परिवारका सबै जना मिलेर घाँटी थिची कर्तव्य ज्यान गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतले जानकारी दिनुभयो ।

मृतकको घाँटी तथा शरिरको अन्य भागहरुमा पनि निल डाम रहेको प्रहरीले जनाएको छ ।

शुरुमा हत्याको घटना लुकाउनका लागि मृतकका सासु तथा ससुरासहितको आफन्तले उपचारको बहानामा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरी फरार भएका थिए ।

पक्राउ परेकाहरुले यस अघि पनि बिभिन्न बहानामा मृतक चिन्तामणि पासवानलाई पटक पटक कुटपीट गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button