तपाईँ सुन्दै हुनुहुन्छः

चैनपुरमा भेटियो मल्लकालीन इँटा

सङ्खुवासभा । सङ्खुवासभाको ऐतिहासिक बजार चैनपुर बजारमा ६०० वर्ष पुरानो मल्लकालीन इँटा फेला परेको छ ।

चैनपुर बजारका नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा मल्लकालीन समयमा उत्पादन भएको पाइएको छ । श्रेष्ठको घर पिंढीमा प्रयोग भएको इँटा १४औँ शताब्दीभन्दा अगाडिमात्र प्रयोग हुने गरेको इतिहासविद् डा रमेश ढुङ्गेलले जानकारी दिनुभयो ।

सङ्खुवासभाको इतिहासमा नयाँ कुराको प्राप्ति भएको इतिहासविद् डा ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो, “६०० वर्षभन्दा पुरानो इँटाहरु फेला परेको छ ।” यो चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण भएको उहाँले दाबी गर्नुभयो । चैनपुरमा पहिलो पटक मल्लकालीन समयमा प्रयोग हुने गरेको इँटा फेला परेकाले यसलाई संरक्षण गर्नु आवश्यक भएको उहाँको भनाइ थियो ।

फेला परेको इँटाको लम्बाइ १४, चौडाइ आठ र मोटाइ दुई इञ्च रहेको डा ढुङ्गेलको भनाइ छ । इतिहासविद् डा ढुङ्गेलले यो पुरानो इँटा भएकाले यसलाई पुरातत्व विभाग, स्थानीय प्रतिनिधि र स्थानीयवासीलाई आह्वान गरेर विशेष ढङ्गले त्यसको सुरक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

मल्लकालीन इँटाको बारेमा पुरातत्व विभागमा लिखित रुपमा जानकारीसमेत गराउने बताइएको छ । नेपाल एकीरण अगाडिबाटै इतिहासमा सङ्खुवासभाको महत्व रहेको छ । यसअघि भोटखोला गाउँपालिकाको हटिया गोलामा १२ हजार वर्षअघिका हतियारसमेत फेला परेकाले डा ढुङ्गेलले जानकारी दिनुभयो ।

चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले मल्लकालीन इँटाले चैनपुरको मात्र नभएर सिङ्गो सङ्खुवासभाकै लागि इतिहास भएको बताउनुभयो । नगरपालिकाले यसको संरक्षणमा ध्यान दिने उहाँले बताउनुभयो । त्यसैगरी चैनपुरकै सिद्धकाली मन्दिरमा पुरानो शिलालेख अझै रहेको छ । चैनपुरको इतिहासमा अहिले पनि मेजर पाटीको रुपमा रहेको पाटीलाई त्यस सयममा बस्नेत पौवा भनिने गरेको इतिहासविद्को भनाइ छ ।

तत्कालीन नेपालका दोस्रो मुख्य काजी बत्तावरसिं बस्नेत मूल काजी हुनुभन्दा अगाडि पूर्वको एकीकरण हुनु पहिले एकीकरण योद्धाको रुपमा आउँदा भोट र सिक्कीमा सैन्य लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन बस्नेतको टोलीले ठूलो देन दिएका थिए । विसं १८३०/३१ मा पृथ्वीनारायण शाहको पालामा बत्तावरसिंका बुबा जनरल अभिमानसिं बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई मिलाएको इतिहासमा उल्लेख भएको जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button