तपाईँ सुन्दै हुनुहुन्छः

नवजात शिशुको मृत्युदर घटाउन ‘सुसार’ कार्यक्रम शुरु

चितवन । नेपाल सरकारले नवजात शिशुको मृत्युदर न्यूनिकरण गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्य अनुसार सबै प्रदेशका आठवटा सरकारी अस्पतालमा सुसार कार्यक्रम शुरु गरेकोे छ ।

नेपाल सरकार र गैह्रसरकारी संस्था गोल्डेन कम्यूनिटीले गत बैशाखबाट यो कार्यक्रम अस्पतालहरुमा शुरु गरेको हो । हालसम्म पांँचवटा अस्पतालमा कार्यक्रम लागु भैसकेको छ भने बांँकी अस्पतालमा पूर्व तयारीका काम भइरहेका छन ।
गोल्डेन कम्यूनिटीले सोमबार भरतपुमा आयोजना गरेको पत्रकार अभिमुखिकरण कार्यक्रममा दिएको जानकारी अनुसार जनकपुर अस्पताल , लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल , प्रदेश अस्पताल कर्णाली र सेती अस्पतालमा कार्यक्रम लागु भईसकेको छ । भरतपुर अस्पताल, कोशी अस्पताल र डडेलधुरा अस्पतालमा कार्यक्रम लागु गर्नका लागि तयारी कार्य भईरहेको छ ।

कार्यक्रममा गोल्डेन कम्यूनीटीकी संचार विज्ञ सिर्जना शर्माले मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याई पहिलो दिनमा हुने नवजात शिशु मृत्युदर घटाउने , मातृशिशु स्याहारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई नवजात शिशु स्याहारा सम्बन्धी ज्ञान तथा सीप को बृद्धि गर्ने , प्रसुती सेवालाई प्रभावकारी ढंगले निगरानी गर्ने र सेवा प्रदान गर्न तथा उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई शशक्त बनाउन सुसार कार्यक्रम लागु गर्न लागिएको जानकारी दिइन ।

उहांँका अनुसार हाल नवजात शिशुको मृत्युदर अनुपात ५० प्रतिशत कम गर्ने लक्ष्य सुसार कार्यक्रमको रहने छ । कार्यक्रममा दिइएको जानकारी अनुसार हरेक बर्ष नेपालमा ६ लाख शिशु जन्मन्छन जसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मिन्छन भने करीब १३ हजार नवजात शिशुको जन्मिएको एक महिना नपुग्दै मृत्यु हुने गरेका छन । नवजात शिशुको मृत्युका कारण मध्ये पनि महिना नपुगी जन्मनु ३१ प्रतिशत, जन्मनासाथ सास फेर्न नसक्नु २३ प्रतिशत र संक्रमण हुनु १९ प्रतिशत प्रमुख कारण हुन ।

नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्यु प्रतिहजारमा २१लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मिने शिशुको दर प्रतिहजार १३ मा घटाउने लक्ष्य अघि सारेको छ । सरकारको यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न सुसार कार्यक्रम गर्न लागिएको कार्यक्रम प्रबन्धक रेजिना गुरुङ्ग जानकारी दिनुभयो । कम्युनीटीले उक्त अस्पतालहरुमा स्वास्थ्यकर्मीलाई तालिम, शिशु कक्षमा चाहिने उपकरण लगायत सबै सेवा गरी नेपाल सरकारसंँग ४ करोड रुपैयांँ बराबरको सम्झौता गरेको छ । उक्त सम्झौता अवधि २ अवधिको हुने बताईएको छ । अस्पतालमा यस किसिमको सेवा आगामी चैत्रबाट शुरु हुने उहांँले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै अस्पतालका प्रसुती बिशेषज्ञ सुनीलमणी पोखरेलले विविध कारणले गर्भबाट मृत शिशु जन्मिने दर बढी रहेतापनि जन्मिएपछिका शिशुलाई बचाउन पनि उत्तिकै चुनौति रहेको बताउनु भयो । उहांँका अनुसार बिशेषगरी जनचेतनाको अभाव, अस्पतालको पहुंँच अभाव, सानै उमेरमा गर्भ रहनु र आर्थिक अभावका कारण गर्भमै शिशु मर्ने गरेका छन । तर जन्मिएका शिशुलाई बचाउन सुसार कार्यक्रम प्रभावकारी हुने उनको भनाई थियो । सो अवसमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट श्रीराम तिवारीले नवजात शिशु मृत्युदर न्युनिकरण गर्नका लागि एकबर्ष अघिदेखि आमाको न्यानो माया (कंगारु मदर केयर) सञ्चालनमा समेत ल्याइएको बताउनु भयो । अन्य अस्पतालमा भन्दा भरतपुर अस्पतालमा नवजात शिशुदर घट्दै गएको छ, उहांँले भन्नुभयो, सुसार कार्यक्रमले थप मृत्युदर कम गर्न मदत गर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button