तपाईँ सुन्दै हुनुहुन्छः

घरबासबीच मितेरी साइनो

पोखरा। घरबास (होमस्टे)को औपचारिक शुरुआत भएको गण्डकी प्रदेशका गाउँलाई पर्यटन बजारमा पु¥याउने लक्ष्यका साथ हाल विभिन्न गाउँमा घरबास कार्यक्रम सञ्चालनमा आइसकेको छ । घरबास पर्यटनका शुरुआतकर्ता स्व क्याप्टेन रूद्रमान गुरुङले यही प्रदेशस्थित स्याङ्जाको शिरुबारीबाट शुरु गर्नुभएको घरबास पछिल्ला वर्षमा गण्डकी प्रदेशमा झण्डै ३०० को हाराहारीमा पुगेको छ ।

गण्डकी प्रदेशमा मात्रै हालसम्म २७४ होमस्टे दर्ता भइसकेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो । शिरुबारीसहित लम्जुङको घलेगाउँ, गोर्खाको वारपाक, तनहँुको बन्दीपुर, कास्कीको ताङतिङ, पर्वतको चित्रे (पञ्चासे क्षेत्र), भुकदेउराली जस्ता सयौँ ठाउँमा सञ्चालित घरबास यतिखेर पर्यटकको आकर्षण बनेका छन् । “गण्डकी प्रदेशमा सञ्चालित घरबास प्रकृति र संस्कृतिमा मात्र नभई गाउँगाउँबाट देखिने हिमाल, गुफा, तालतलैया, धार्मिक एवं ऐतिहासिकस्थल, राष्ट्रिय निकुञ्ज आदिले महत्वपूर्ण बनेका छन्”, उहाँले भन्नुभयो ।

भ्रमण वर्ष सञ्चालनको शुरुआतीमा नै घरबास पर्यटनको विकासलाई लक्षित गरी गण्डकीका दुईवटा होमस्टेको प्रदेश नं ५ का दुईवटा होस्टेसँग मितेरी साइनो जोड्न लागिएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार यही माघ २३ देखि २५ गतेसम्म गण्डकीअन्तर्गत कास्कीको ताङतिङ सामुदायिक होमस्टेसँग प्रदेश नं ५ अन्तर्गत गोविन्दपुर सामुदायिक होमस्टे, बर्दियासँग मितेरी साइनो गाँस्न लागिएको छ । त्यस्तै पर्वतको भुकदेउराली नमूना सामुदायिक होमस्टेसँग बर्दियाको खाता जैविक मार्ग होमस्टेसँग मितेरी साइनो गाँस्न लागिएको उहाँले जानकारी दिनुभयो ।

भिटोफ गण्डकी प्रदेशले ‘जाऊँ है घुम्नलाई मितेरी जोडेर शुरु गरौँ भ्रमण वर्षलाई’ भन्ने नाराका साथ भ्रमण वर्षका अवसरमा विभिन्न होमस्टेबीच मितेरी साइनो बढाउँदै एकापसमा पर्यटक आदानप्रदान गराउने सोच अघि बढाएको छ । भ्रमण वर्षकै शुभारम्भमा गोविन्दपुर सामुदायिक होमस्टेसँग मितेरी साइनो जोड्न लागिएको कास्कीको ताङतिङ सामुदायिक होमस्टे गुरुङ संस्कार संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै हो । मादी गाउँपालिका–२ ताङतिङमा २०७५ साल पुसदेखि यहाँका १४ वटा घरमा सञ्चालित होमस्टेमा पर्यटकका लागि २७ कोठा र ६५ श्ययाको व्यवस्था छ ।

गुरुङ संस्कृतिको प्रत्यक्ष अनुभूति गर्न सकिने यो होमस्टेबाट अन्नपूर्ण हिमशृङ्खलासहित आसपास रहेका परम्परागत पानी घट्ट, ऋषिधो डाँडा, कोरी डाँडा, ताराहिल दृश्यावलोकन केन्द्र महभिर, क्हफुचे हिमताललगायत धेरै पर्यटकीय आकर्षण हुन् ।

ताङतिङसँग मितेरी साइनो जोड्न लागिएको बर्दियाको गोविन्दपुर थारू संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभव गर्न पाइने ठाउँ हो । यहाँका १२ वटा घरमा सञ्चालित घरबासमा स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिनाका साथै थारू संस्कृतिका विविध पक्ष अवलोकन गर्न पाइन्छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको यो होमस्टे क्षेत्रको दान तालदेखि निशानगाडा भारतसम्म पुरानो रेल हिँडेको बाटोमा पाटे बाघ, गैँडा एवं बथानसहितका हात्ती हिँडेको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

भ्रमण वर्षको शुरुआतमा बर्दियाको खाता जैविक मार्ग सामुदायिक होमस्टेसँग मितेरी गाँस्न लागिएको अर्को होमस्टे पर्वतको भुकदेउराली नमूना गाउँ सामुदायिक होमस्टे हो । पर्वतको मोदी गाउँपालिका–१ मा पर्ने २०७५ सालदेखि सञ्चालनमा आएको यो होमस्टे प्रकृति एवं संस्कृतिले सम्पन्न छ । यहाँ रहेका ऐतिहासिक नेखोल बराह, भवरकोट मन्दिर आदिले धार्मिक पर्यटनको सम्भावना बढाएको छ भने यहाँबाट माछापुच्छ«े, अन्नपूर्णलगायत हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । यही गाउँ भएर घोरेपानी तथा पुनहिलसम्म पदयात्री पर्यटक जाने भएकाले पनि यसको महत्व अझै बढेको छ ।

भुकदेउरालीसँग मितेरी गाँस्न लागेको बर्दियाको खाता जैविक मार्ग सामुदायिक होमस्टे थारू संस्कृतिका विविधताले सम्पन्न छ । स्थानीय प्राङ्गारिक उत्पादन खान पाइने यो होमस्टे वरपर सालको घना जङ्गल छ । घना जङ्गलका कारण पाटे बाघ, गैँडा तथा बथानसहितका हात्ती देख्न पाइने भएकाले यसको छुट्टै महत्व छ । विसं २०६५ फागुनबाट सञ्चालनमा आएको यो होमस्टेमा थारू संस्कृतिमा आधारित झुमरा नाच, मझिरा नाच, छाट्करा एवं लाठी नाच आदि अवलोकन गर्न पाइन्छ ।

विभिन्न होमस्टेबीच मितेरी साइनो गाँस्दै पर्यटकको आदानप्रदान एवं आतिथ्यता, स्वागत–सत्कार आदिमा एकअर्काका अनुभव आदानप्रदान हुने विश्वास लिइएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । गण्डकी प्रदेश गाउँ पर्यटनमा धेरै सम्भावना बोकेको स्थल भएको बताउँदै उहाँले सम्भावनायुक्त स्थानमा होमस्टे स्थापना गर्दै यसका माध्यमबाट स्थानीयवासीको आयआर्जनमा समेत योगदान पुग्दै आएको उहाँको भनाइ छ । ताङतिङ, भुकदेउराली जस्ता स्थानमा सञ्चालित होमस्टेसँग तराई क्षेत्रको बर्दियाका होमस्टेसँग मितेरी साइनो गाँसेसँगै यसले एकापसमा रहनसहन, वेशभूषा, कलासंस्कृति जान्न र बुझ्नसमेत टेवा पुग्ने विश्वास लिइएको पहारीको भनाइ छ ।

मितेरी साइनोले एकअर्काको संस्कृति आदानप्रदान गर्न पनि योगदान पुग्ने भिटोफ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष रवीन्द्रराज पौडेल बताउनुहुन्छ । “भ्रमण वर्षको शुभारम्भमा नै गण्डकी प्रदेशका गुरुङ संस्कृतिले सम्पन्न ताङतिङ र भुकदेउराली होमस्टेलाई प्रदेश नं ५ बर्दियाका थारू संस्कृतिले सम्पन्न खाता जैविक र गोविन्दपुर होमस्टेसँग मितेरी साइनो गाँस्न लागेकाले यसले सांस्कृतिक आदानप्रदानमा पनि ठूलै योगदान पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button