तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाहमा आएन कमी

काठमाडौं-बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष (साउनदेखि कात्तिकसम्म) मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ ।

पहँुच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ७२ जना (३६ विवाह)ले उमेर नपुग्दै विवाह गरेका छन् भने तीन बालिकाको विवाह अनमेल तथा अस्वाभाविक उमेर अन्तर भएकासँग भएको देखिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो । साथै ४१ बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ ।

बालविवाह भएकामध्ये आफूखुशी वा भागी विवाह ५६, अभिभावकद्वारा ३८, सामाजिक सञ्जाल र फेसबुक दुरुपयोगका कारण उमेर नपुग्दै २२ जनाको बालविवाह भएको छ । यसैगरी बालविवाहलाई लैङ्गिकरूपमा विश्लेषण गर्दा बालक ३६ र बालिका ८० रहेका छन् । जिल्लागतरूपमा हेर्दा मोरङ जिल्लामा सबैभन्दा बढी २२ बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ ।

बालविवाह गरेका केही जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाई गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ । यस अवधिमा भएका ८० बालविवाहमध्ये आठ नेपाल प्रहरीबाट र दुई बाल क्लबबाट गरी जम्मा १० बालविवाह रद्द गरिएको छ । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाट पनि हुने गरेको पाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button