तपाईँ सुन्दै हुनुहुन्छः

जलरङमा नेपाली कला–संस्कृति समेटिने

काठमाडौं-जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तरराष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष हुने भएको छ । आगामी भदौ ३१ देखि असोज ६ गतेसम्म काठमाडौँ र कास्कीको धम्पुसमा आयोजना हुने महोत्सवमा विदेशी कलाकारले समेत नेपाली कला, संस्कृति र प्राकृतिक विविधताको ‘थिम’मा रहेर चित्र सिर्जना गर्नेछन् । उनीहरुलाई विदेशी चित्रका लागि अनुमति दिइने छैन ।

अन्तरराष्ट्रिय जलरङ समाज नेपालले मङ्गलबार मिति घोषणा गर्दै नेपाल भ्रमण वर्ष सफल बनाउन नेपाली विषयवस्तुलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । आयोजकका अनुसार कला पर्यटनको विकास गर्नु यसको मुख्य उद्देश्य हो । मिति घोषणालगत्तै विभिन्न देशका कलाकारले नेपाल आउने प्रतिबद्धता जनाइसकेका छन् । फिलिपिन्स, भारत, बङ्गलादेश र चीनका कलाकारले समूहगत रुपमै आउने बताएको समाजले जनाएको छ ।

हरेक दुई वर्षमा हुने महोत्सवको पहिलो संस्करण सन् २०१६ मा काठमाडौँ र कास्कीको घान्द्रुकमा र दोस्रो संस्करण सन् २०१८ मा काठमाडौँसहित लुम्बिनीमा भएको थियो । यसपटक भ्रमण वर्ष २०२० को अवसरमा आयोजना हुने भएकाले महोत्सवलाई खास बनाउन लागिएको अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।

“पर्यटन वर्षलाई जोडेर हामीले महोत्सव गर्न लागेका हौँ, यसपालि विदेशी कलाकारले समेत नेपाली कला, संस्कृति र प्राकृतिक क्षेत्रको चित्र बनाउनुपर्नेछ, बाहिरको चित्र हामीले स्वीकार गर्दैनौँ, महोत्सवले कलामार्फत विश्वमा नेपाली पहिचानको प्रचारप्रसार हुने अपेक्षा छ”, गुरुङले भन्नुभयो । उहाँका अनुसार यसपाली गण्डकी प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न लागिएको छ ।

पर्यटन प्रवद्र्धनमा कला जतिको सशक्त माध्यम अरू छैन । एउटा कलाकार नेपाल आयो भने उसले कैयाँै वर्षसम्म नेपालकै चित्र सिर्जना गरिरहेको हुन्छ । ऊसँग जोडिएका लाखौँले हेरिरहेका हुन्छन् । त्यसले प्रचारप्रसारमा सहयोग पुग्छ । कलाकार तथा प्राध्यापक विश्वराज पराजुली चित्रकार सम्बन्धित देशका कलाका दूत नै हुन् भन्नुहुन्छ ।

महोत्सवमा कला, प्रदर्शनी, आर्ट डेमोस्ट्रेशन, अन्तरक्रिया, स्थलगत चित्रकला कार्यशालालगायत कार्यक्रम सञ्चालन हुनेछ । विश्वका ख्यातिप्राप्त चित्रकार सहभागी गराउने लक्ष्य राखिएको महोत्सवमा ५० देशका ३५० भन्दा बढी चित्र समावेश गर्ने योजना छ । विदेशी कलाकारलाई शुरुमा समाजले नेपाली विषयवस्तुका तस्बिर पठाइनेछ । उक्त चित्र हेरेर विदेशी चित्रकारले कला सिर्जना गरी पुनः पठाउनेछन् । तयार भएकामध्ये उत्कृष्ट छनोट भएका चित्र मात्रै छनोट हुने र प्रदर्शनी गरिनेछ ।

नेपालको पूर्वदेखि पश्चिमसम्मका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी चित्रहरु समावेश हुने समाजका सदस्य डिवी राईले बताउनुभयो । मिति घोषणासँगै महोत्सवका तयारीसमेत शुरु भएको छ । रङका विभिन्न माध्यममध्ये जलरङमार्फत चित्र सिर्जना गर्ने समूह महोत्सवमा सहभागी हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button