तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्ष धामीको हत्याबारे अनुसन्धान शुरु

अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्याको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, संघीय प्रहरी ईकाइ कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालय दिपायलको टोली अछाम आईपुगेको छ ।

संघीय प्रहरी ईकाइ धनगढीबाट तालिमप्राप्त कुकरसहित अन्य अनुसन्धान टोली बिनायक पुगेसंगै अनुसन्धान शुरु गरिएको अछाम प्रहरी प्रमुख डीएसपी दिपक भारतीले बताउनुभयो ।

डिएसपी भारतीका अनुसार सीआईबीबाट पाँच जनाको अनुसन्धान टोली अछाम आएको छ । टोलीले प्रक्रियागत रुपमा छनाबिन शुरु गरेको समेत उहाँले बताउनुभयो ।

माघ २० गते राती १० बजेतिर बिनायक बजारबाट घर जान भनी वडाअध्यक्ष धामी गएका थिए ।

प्रहरीले राती वडाध्यक्ष धामी बसेको होटलका सञ्चालक, धामीसँगै रहेका व्यक्ति र पहिले शब देख्ने महिलालाई प्रारम्भिक अनुसनधानका लागि सोधपुछ गरेको समेत डिएसपी भारतीको भनाई छ ।

वडा अध्यक्ष धामीको माघ २० गते राती हत्या गरी विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको भैसीँगोठमा शव फालिएको अवस्थामा फेला परेको थियो ।

यसैबीच वडा अध्यक्ष धामी हत्याको निष्पक्ष छानबिनको माग गर्दै आज बिनायक बजार बन्द गरिएको छ ।

मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा चक्काजाम गरेका छन् । व्यवसायिक पसलहरु समेत बन्द छन । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप समेत लगाएका छन ।

पन्चदेवल बजारमा बिहानैदेखि टायर बाली प्रदर्शन गरिएको छ । सवारी आवत जावत समेत बन्द भएको छ । शवको प्रक्रिया अनुसार मुचेल्का उठाई पोष्ट मार्टमका लागि आजै जिल्ला अस्पताल अछाम पठाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button