तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग नेपाल पराजित

अजय बम । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग नेपाल पराजित भएको छ ।

घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।

शरद भेषवाकरले सर्वाधिक ५५ रनको योगदान दिए । शरद घरेलु मैदानको ओडीआईमा अर्ध शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । शरदको ओडीआई करिअरको यो पहिलो अर्ध शतक पनि हो । खेललाई सन्दीप लामिछानेले रोमान्चक बनाए ।

सन्दीप र शरदले आठौं विकेटका लागि ३८ रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । तर शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो । सन्दीपले २७ बलमा ३ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए ।

४५ औं ओभरको पहिलो बलमा मकसुदले सन्दीपलाई फस्ट सिलिपमा रहेका खावर अलीबाट उत्कृष्ट क्याच गराएसँगै नेपालको जितको आशा सकिएको थियो ।

सुरुवाती चार रनमा दुवै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबिडब्लू आउट गरेपछि पुन दबाबमा परेको थियो ।

२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने । लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो सिलिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो ।

छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै केही आशा दिलाएका थिए । तर, ३४ औं ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट २६ रनमा क्याच गराए ।

अभिनाश बोहरा र सुशन भारीले ८–८ रन जोडे । ओमानका जिशान मकसुदले ३ विकेट लिए भने कलीमुल्लाह र बिलाल खानले २–२ विकेट लिए । मोहम्मद नदीम, खावर अली र अकीब इलियासको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो ।

ओपनिङ बलिङ करण केसीले गरेका थिए । उनको नाममा ४ विकेट रह्यो । खेलमा डेब्यु गरेका सुशन भारीले महत्वपूर्ण तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

नेपालले अब शनिबार अमेरिकासँग खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button