तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिनपछि वडाध्यक्षको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल पुर्याईएको छ ।

आफन्त र स्थानीयले दोषीलाई पत्ता लगाउन ढिला गरेको भन्दै बुधबार दिनभर तथा बिहिबार दिउँसोसम्म आन्दोलन गरेपछि पोष्टमार्टममा ढिलाई भएको थियो ।

आन्दोलनका कारण शव पोष्टर्माटमका लागि उठाउन नसकिएकोमा आज नगरपालिका र मृतकका आफन्तबीच सहमति भएपछि पोष्टमार्टमका लागि शव ल्याएको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो ।

धामी हत्याका बिषयमा नगरपालिकाले स्वामित्व ग्रहण गर्ने, मृतकका तीन सन्तानलाई उनीहरुले अध्ययन गर्न चाहेजति अध्ययन गराउने, केन्द्र सरकारसँग ५० लाख सहयोगको माग गर्ने, शालिक बनाई चोकको नाम मृतकका नामबाट नामाकरण गर्ने लगायतको सहमति भएपछि स्थानीयले जारी राखेको आन्दोलन स्थगित गरिएको नगरपालिकाका प्रमुख देवराज देवकोटाले बताउनुभयो ।

घटनाका दोषीलाई पत्ता नलगाएसम्म नगर तथा वडाका सम्पूर्ण कार्य ठप्प राख्ने समेत जनाईएको छ ।

वडा अध्यक्ष धामीको शव मंगलबार बिहान वडा नम्बर २ कै गैरीगाउँमा भँैसी बाँधेको गोठमा बाहिर चुक्कुल लगाएको अवस्थामा शव भेटिएको थियो ।

“मृतकको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवी, तालिम प्राप्त कुकुरसहित संघीय प्रहरी ईकाई धनगढी तथा अछाम जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले बुधबार बिहानबाटै सघन रुपमा अनुसनधान अघि बढाएको छ ।” अछामका प्रहरी प्रमुख डिएसपी भारतीले भन्नुभयो – “अनुसन्धान सघन रुपमा अघि बढिरहेको केही दिनमै दोषी पत्ता लगाई सार्वजनिक गर्ने क्रममा छौँ ।”

तालिमप्राप्त कुकुरको ट्यापिङसहित घटनास्थल र बरीपरी क्षेत्रमा खोजी कार्य गरीरहेको प्रहरीको भनाई छ । अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, नगरप्रमुख देवकोटा, डिएसपी भारी, उपप्रमुख अम्बिका चलाउने, नेकपाका प्रदेश सदस्य नन्दबहादुर कडायत लगायत सरोकारवालावीचको समन्वयमा सहमति भई शव पोटमार्टमका लागि पठाइएको हो ।

अनुसन्धानमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको नेतृत्वमा छ जना तथा अछाम प्रहरीको संयन्त्र संलग्न रहेको छ ।

जाल्पेश्वरी मावि कुईकाका पूर्व प्रधानाध्यापक समेत रहनु भएका धामी स्थानीय निर्वाचनमा शिक्षकबाट राजीनामा दिई नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

मृतकका श्रीमती दुई छोरा र छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button