तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरवका आयोजना निमार्ण कार्यलाई तीव्रता दिइने : मन्त्री भट्ट

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय गौरवका आयोजना निमार्ण कार्यलाई तीव्रता दिइने र औद्योगिक विकासका लागि सम्भाव्यता अध्ययन गरी उद्योग सञ्चालनको वातावरण तयार गरिने बताउनु भएको छ ।

कञ्चनपुरको वेदकोटमा निर्माणको योजनामा रहेको दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टले राष्ट्रको आर्थिक समृद्धिबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सफल हुने भएकोले सरकारको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित रहेको दाबी गर्नुभयो ।

शुक्रबार वेदकोटमा स्थलगत अवलोकन गर्दै मन्त्री भट्टले दैजी छेला औद्योगिक क्षेत्रसहित करिडोरका लागि सम्भाव्यता अध्ययन गरिने बताउनु भएको छ ।सोही क्रममा उहाँको टोलीले शिवलिंगेश्वर धामको पनि दर्शन गरेको छ ।

यसैबीच, मन्त्री भट्टले कञ्चनपुरको माहाकाली नगरपालिकामा सुख्खा बन्दरगाहको काम छिट्टै शुरु हुने बताउनु भएको छ ।

सुख्खा बन्दरगाह निर्माण स्थलको अवलोकनका लागि मन्त्रालयको प्राविधिक टोली सहित कञ्चनपुर पुग्नु भएका मन्त्री भट्टले शुक्रबार दोधाराचाँदनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुख्खा बन्दरगाह निर्माण तथा सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्नुभयो ।

नेपाल–भारत कनेक्टिभिटीका लागि भारतीय अधिकारीहरूसँग समेत छलफल भइरहेको बताउनु हुँदै मन्त्री भट्टले दोधाराचाँदनीमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउनसके सुदूरपश्चिमको मात्र नभई समग्र नेपालको समृद्धि र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button