तपाईँ सुन्दै हुनुहुन्छः

आइटिएफ टेनिसमा १७ देशका ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । पोखरामा भोलिदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यू–१८ टेनिस प्रतियोगितामा १७ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय टेनिस सङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन गरिने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको र स्वदेश तथा विदेशबाट समेत खेलाडी पोखरा आइसकेको प्रतियोगिताका संयोजक सूर्य भुजेलले बताउनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, जर्मनी, सर्विया, जापान, मलेसिया, चीन, कोरिया, सिङ्गापुर, क्यानडा, अष्ट्रेलियालगायत देशबाट महिला ३२ र पुरुष ३२ गरी ६४ जना खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालबाट पुरुष तथा महिला छ÷छ जना गरी १२ जनाले सहभागिता जनाउने भएकामा पोखराका नेहाल जङ्गबहादुर थापा, श्रेया भट्टराई र सौगात विकले प्रतिस्पर्धा गर्ने टेनिस सङ्घका जिल्ला अध्यक्ष दोर्जे लामाले बताउनुभयो ।

प्रतियोगिताले पोखरालाई खेलकूद शहरका रुपमा विश्वमा परिचित गराउँदै नेपाल भ्रमण वर्षलाई सफल बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत पुग्ने विश्वास आयोजकको छ । शनिबार र आइतबार दुई दिन ६४ जना खेलाडीबीच छनोट चरणका खेल खेलाएर आठ÷आठजना खेलाडी छनोट गरी माघ २७ गते प्रतियोगिताको औपचारिक उद्घाटन गरिने लामाले जानकारी दिनुभयो । विजेताले अङ्क प्राप्त गर्ने र प्राप्त अङ्कका आधारमा खेलाडीको वरियता निर्धारण हुने बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button