२०७७ साल कार्तिक १२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यिक रचनामा लाटोकोसेरो संरक्षण

वासुदेव पौडेल २०७६ माघ २५ गते ९:२७

“दिनमा हैन रातमा डुल्छु सेरोफेरो
मान्छेहरू भन्छन् मलाई लाटोकोसेरो ।
एउटा हैन दुइटा होइन धेरैधेरै छन्
हुचिल, उल्लु, भुद्रुङ पनि मलाई भन्छन् ।।”

पोखरा । यी कविताका अंश स्याङ्जाको राङभाङ – भैँसेगौडामा शुक्रबारदेखि शुरु नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७६ का अवसरमा आयोजित प्रदर्शनीमा भेटिएको हुन् ।

स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटिका मावि कक्षा ७ मा अध्ययनत् आदित्य गोदारले रचना गर्नुभएको ती कवितांशले लाटोकोसेरोलाई झट्ट चिन्न मद्दत गर्दछ । उहाँको पूरै कविता पढ्दा त लाटोकोसेरोलाई जान्न बुझ्न मात्र हैन, यसको संरक्षणका लागि पनि अभिप्रेरित गर्दछ ।

गोदारका जस्तै अन्य धेरै विद्यालयका विद्यार्थीका रचना प्रदर्शनीमा हेर्न र पढ्न पाइने व्यवस्था मिलाइएको छ । संरक्षणको अभावमा हराउँदै गएको लाटोकोसेरोको विविधतालाई उत्सवमा आउने जो कोहीले एकसाथ अवलोकन गर्न पाउँछन् ।

प्रकृतिका साथीहरू, मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङभाङ युवा क्लबद्वारा आयोजित उत्सवका पूर्वसन्ध्यामा यस क्षेत्रका ३५ विद्यालयमा लाटोकोसेरो संरक्षणसम्बन्धी शिविर सञ्चालन गरिएको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताउनुभयो ।

शिविरका अवसरमा लाटोकोसेरोसम्बन्धी विद्यालयस्तरीय कविता, कथा, निबन्धलगायतका उत्कृष्ट रचनालाई प्रदर्शनीमा राखिएको उहाँले जानकारी दिनुभयो । उत्सव आठवर्षदेखि हुँदै आइएको बताइएको छ । धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न भइसकेका छन् । नेपालबाहेक अमेरिका, इटाली र भारतमा उत्सव मनाउने गरिएको जनाइएको छ ।

तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक) अन्तर्गत पर्ने यस क्षेत्रमा पाँच प्रजातिको लाटोकोसेरो पाइने मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।

नेपालको मध्यपहाडी क्षेत्रमा रहेको एकमात्र सो पदमार्गमा ठूलो सङ्ख्यामा विभिन्न प्रजातिका चरा पाइने भएकाले चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर पनि सो पदमार्गका विभिन्न स्थानमा देख्न पाइन्छ ।

स्याङ्जा र तनहँुका चारवटा नगरपालिका र एउटा गाउँपालिका जोडिने सो पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु हिम शृखङ्ला देखिन्छ । गुरुङ र मगर समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा घाटु, सोरठी, झोरा, पञ्चे बाजा आदिको अनुभव लिन सकिन्छ ।

विभिन्न प्रजातिका चराका साथै यस क्षेत्रमा रतुवा, दुम्सी, खरायो, बाँदर, लंगूर, चितुवा, चरी बाघ, स्याल, काँडेभ्याकुर, कालिज, लामपुच्छ्रे, तित्रा, सुगा, मलेवा, ढुकुर, लाटोकोसेरो, हुचिल, कोइली, जुरेली आदि सजिलै देख्न पाइन्छ । उत्सव आयोजक मूल समितिका संयोजक बालकुमार गुरुङका अनुसार किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेकोको वास्तविकतालाई दृष्टिगत गर्दै उत्सव आयोजना गरिएको हो ।

उत्सवअन्तर्गत चरा अवलोकन, यहाँका प्राकृतिक दृश्यको अवलोकनका साथै लाटोकोसेरासम्बन्धी म्युजियम प्रदर्शनी गरिएको छ । उत्सवको अघिल्लो दिन शुक्रबार वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीद्वारा लाटोकोसेरो संरक्षणसम्बन्धी नाचसमेत प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीमा लाटोकोसेरोको जानकारीमूलम सूचना, चित्र तथा फोटोको प्रदर्शनीले यस क्षेत्रका सर्वसाधारणमा यसको संरक्षणका लागि धेरै अभिप्रेरित गरेको उहाँले जानकारी दिनुभयो । लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्ने व्यवस्थाका साथै लाटोकोसेरोको रोबोट प्रदर्शनीको आकर्षण बनेको छ । उत्सवका सहभागी युवायुवतीले अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्र बनाएका थिए ।

“भन्दा किसानको साथी भनिए पनि व्यवहारमा यसको संरक्षणमा जनचेतना अझै कमी रहेको अवस्थालाई मध्यनजर गर्दै सो उत्सव आयोजना गरिएको हो”, गुरुङले भन्नुभयो, “लाटोकोसेरोको संरक्षणका साथै यस क्षेत्रमा रहेको चरा पर्यटनको सम्भावना र समग्र सहस्राब्दी पदमार्गको प्रवद्र्धन र विकासका लागि उत्सव बहुउपयोगी बन्ने विश्वास लिएका छौँ ।”