तपाईँ सुन्दै हुनुहुन्छः

आइसीसी विश्वकप लिग दुई : नेपालले दियो अमेरिकालाई १९१ रनको लक्ष्य     

काठमाडौँ आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको हो ।

नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन् । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किनुभयो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुनुभयो । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किनुभयो । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट हुनुभयो । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किनुभयो ।

छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाउनुभयो । यस क्रममा उहाँले तीन छक्का र चार चौकासमेत प्रहार गर्नुभयो । कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभयो । यस्तै विनोद भण्डारीले ५९ रन बनाउनुभयो । उहाँले ७९ बल खेल्दै एक छक्का र छ चौका हान्नुभयो । करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाउनुभयो ।

बलिङतर्फ अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिनुभयो । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक एक विकेट लिनुभयो ।

अहिले अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ । अमेरिकाले ११ ओभरमा पाँच विकेट गुमाउँदै २७ रन बनाएको छ । अमेरिकाको शुरुआत निकै खराब रह्यो । अमेरिकाले चार ओभरमा टोलीको स्कोर १३ रन छँदा चार विकेट गुमायो । सन्दिप लामिछाने र करन केसीले दुई दुई तथा सुशन भारीले एक विकेट लिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button