तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट फर्काइने नेपालीलाई राख्न दुईवटा भवन खाली गराइयो

काठमाडौँ । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराइएको छ ।

प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो ।

त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।

नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनौट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा आइसोलेशन वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई त्यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ ।

खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले त्यसको विरोध गर्दै आएका छन् ।

बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तरराष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button