तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम झण्डै चार गुणाले वृद्धि

बीरगंज । पर्सामा महिलाको नाममा उद्योग तथा व्यापारिक फर्म दर्ता गर्ने क्रम झण्डै चार गुणाले वृद्धि भएको छ ।

राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको हो ।

वाणिज्य कार्यालय वीरगंजमा दर्ता भएका ४० हजार भन्दा बढी व्यापरिक फर्महरु मध्ये ८० प्रतिशत फर्म महिलाको नाममा दर्ता भएको वाणिज्य कार्यालय वीरगंजका प्रमुख ओम नारायण शर्माले बताउनुभयो ।

वाणिज्य कार्यालयको तथ्यांकको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा चार गुणा बढी व्यापारिक फर्म दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आर्थिक बर्षदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता सङ्ख्या बढेको जनाइएको छ ।

वाणिज्य कार्यालयका प्रमुख शर्माले व्यापारिक फर्म दर्ता महिलाको नाममा भए पनि कतिपयलाई के प्रयोजनका लागि फर्म दर्ता गरेको हो सोको बारेमा कुनै जानकारी नहुँदा आफूहरुलाई दुःख लाग्ने गरेको बताउनुभयो ।

उहाँले तर केही महिलाहरु भने सशक्तरुपमा उद्योग व्यवसायमा लागेको बताउनुभयो । अधिकांश महिलाको नाममा दर्ता भएका फर्महरुको सञ्चालनकर्ता पुरुष हुने गरेको समेत भेटिएको छ । सरकारले रु एक करोडसम्म पूँजीको व्यापारिक फर्म दर्ता गर्दा २० हजार १०० राजश्व तोकेको छ । महिलाले यस्तो फर्म दर्ता गर्दा २०० राजश्व मात्र तिर्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्थाको लागि महिलाहरुको नाममा व्यापारिक फर्म दर्ता गर्ने प्रचलन बढेको वाणिज्य कार्यालय वीरगंजका प्रमुख शर्माले बताउनुभयो ।

यता घरेलु तथा साना उद्योग कार्यालयमा समेत महिलाहरुको नाममा कृषिमा आधारित स–साना उद्योग पर्लर, अगरवत्ति, मैनवत्ति, स्टेशनरी उद्योग दर्ता भएको कार्यालय प्रमुख रिमा साहले बताउनुभयो । हाल घरेलु तथा साना उद्योग कार्यालय वीरगंजमा ११ हजार भन्दा बढी साना उद्योगहरु दर्ता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button