तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धत्व प्राप्तिको प्रस्थान विन्दु अनोेमाघाटमा पूर्णिमा उत्सव

परासी-लुम्बिनी भ्रमण वर्षका अवसरमा ऐतिहासिक धार्मिक एवं पुरातात्विकस्थल ‘अनोेमाघाट’मा पूर्णिमा उत्सव मनाइयो । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आइतबार साँझ भव्य रुपमा उत्सव मनाइएको हो ।

भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिका लागि केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको स्थलमा सो घाट सुपरिचित रहेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा अवस्थित सो घाटलाई पर्यटकीयस्थलका रुपमा विकसित गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य प्रदेश सरकार र सुस्ता गाउँपालिकाले राखेका छन् ।

कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले ऐतिहासिक स्थलको पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिनुभयो । सो घाट बुद्धको अस्तु धातु रहेको ऐतिहासिक रामग्राम स्तूपबाट पूर्वतर्फ नारायणी (अनोमा) नदीको किनारमा अवस्थित छ ।

यही स्थललाई बुद्धको बुद्धत्व प्राप्तिको प्रस्थान विन्दु मानिन्छ । मान्छे किन बिरामी हुन्छ, किन दुःख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ ? भन्ने जान्न बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा निस्कँदा २९ वर्षको उमेरमा अनोमा नदी (त्रिवेणी नदी)मा टाउको मुण्डन गरेर सन्यासी भिक्षु हुनुभएको बताइएको छ । बुद्धले अनोमा नदीमा दरबारिया लुगा खोलेर भिक्षुका पहेँला लुगा (गेरु वस्त्र) लगाउनुभएको इतिहासविद् डा गितु गिरीले जानकारी दिनुभयो ।

अनोमाघाटलाई व्यवस्थित गरी पौराणिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताउनुभयो । पुरातात्विक स्थलको खोज, अनुसन्धान र विकास गर्न गाउँपालिका र प्रदेश सरकार लागिपरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button