तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन लिगको १२औं चरणका खेलहरु आजबाट शुरु, दैनिक तीन खेल हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजबाट १२औं चरणका खेलहरु शुरु हुँदैछन् । यस क्रममा आजदेखि दैनिक ३ खेल हुने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाले सबै खेल सातदोबाटोस्थित एन्फा कम्पलेक्समै गर्ने जनाएको छ । त्यसैले बिहान मध्याह्न र दिउँसो गरी ३ खेल खेलाउन लागिएको हो ।

बिहानै पौने ९ बजे विभागीय टोली एपीएफले फ्रेण्ड्स क्लबसँग खेल्नेछ । रेलिगेसन जोनमा रहेको एपीएफका लागि फ्रेण्ड्सविरुद्धको खेल गर या मरको अवस्थामा छ । ११ खेलबाट ५ अंक मात्र रहेको एपीएफ सरस्वती क्लबभन्दा मात्र अघि छ ।

११ खेलबाट नवौं स्थानमा रहेको फ्रेण्ड्सको लागि शीर्ष ६ मा पर्न पनि यो खेल महत्वपूर्ण छ । एपीएफलाई रहाउन सके फ्रेण्ड्सले छैटौं स्थानको पुलिससँग अंक बराबरी गर्नेछ ।

यस्तै दिउँसो सवा १२ बजे हुने खेलमा च्यासल युथ क्लबले रेलिगेसनको अर्को दाबेदार सरस्वती युथ क्लबसँग खेल्नेछ । ११ खेलबाट १२ अंक रहेको च्यासल दशौँ स्थानमा छ भने समान खेलबाट ४ अंक मात्र रहेको सरस्वती अंक तालिकामा पुछारमा छ र रेलिगेसनको दबाबमा छ । एपीएफ जस्तै सरस्वतीको अवस्था पनि दयनिय छ । उता च्यासलको लागि शीर्ष ६ मा पर्न यो खेल जित्नैपर्ने बाध्यता छ ।

यस्तै तेस्रो खेल संकटा क्लब र मच्छिन्द्र क्लबबीच दिउँसो साढे ३ बजे शुरु हुनेछ । उपाधिको दाबेदारमध्ये एक मछिन्द्र ११ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा छ । साविक उपविजेता संकटा भने १५ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button