तपाईँ सुन्दै हुनुहुन्छः

भारत बंगलादेशसँग ३ विकेटले पराजित

काठमाडौं । डकवर्थ लुईस सिस्टममा साविक विजेता भारतलाई मात दिँदै बंगलादेशले आईसीसी विश्वकप अन्डर नाइन्टिन क्रिकेटको उपाधि जितेको छ । पहिलो पटक फाइनलमा पुगेको बंगलादेशले बलियो भारतलाई ३ विकेटले पराजित गर्दै अन्डर नाईन्टिन विश्वकपव क्रिकेटको उपाधि उचालेको हो ।

भारतले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि बंगलादेशले डकवर्थ लुईसको आधारमा नयाँ लक्ष्य एकसय ७० को पाएको थियो । नयाँ लक्ष्य बंगलादेशले ४६ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो । पहिलो विकेट ५० रन हुँदा गुमाएको बंगलादेशले ८५ रन जोड्दा ५ विकेट खेर फालेको थियो । बंगलादेशका पर्वेज हुसेन इमोनले सर्वाधिक ४७ रन बनाउँदा कप्तान अकबर अलिले नट आउट ४३ रन बनाए ।

तान्जित हसनले १७ रन जोडे । भारतका रवि विश्नोईले ४ विकेट लिँदा सुशान्त मिश्राले २ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४७ ओभर दुई बलमा एक सय ७७ रनमा अलआउट भयो । भारतको पारीलाई कमजोर पार्न बंगलादेशका अभिशेख दाशले तीन तथा सोरिफुल इस्लाम र तान्जिन हसन सकिवले दुई दुई विकेट लिए  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button