तपाईँ सुन्दै हुनुहुन्छः

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

चितवन। नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताउनुभयो । उहाँका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा रु चार अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सातामा एक लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा रु ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिनुभयो । यस्तै मासुमा दैनिक नौ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो रु ३० घाटा व्यहोर्नुपरेको उहाँको भनाइ छ । यसबाट एक वर्षमा रु नौ अर्ब ७२ करोड नोक्सान भएको उहाँले बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु तीन हाराहारी नोक्सान भएको बताउनुहुन्छ । अण्डाबाट एक वर्षमा रु तीन अर्ब चार करोड ५० लाख नोक्सान भएको उहाँले जानकारी दिनुभयो । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ ।

यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा रु १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताउनुहुन्छ । अन्यले बैंकको ऋण सार्ने वा सोही बैंकमा ऋण थपेर टिकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै धरापमा छन् ।” बर्डफ्लु आउँदासमेत तीनचार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उहाँको भनाइ छ ।

उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्काेतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ । एक वर्षअघि प्रतिकिलो रु २९ को मकै अहिले रु ३८ पुगेको छ भने रु ५६ को भटमास रु ७२ सम्म पुगेको डा भट्टराई बताउनुहुन्छ ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका डा भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५, लेयर्स चल्लाको प्रतिगोटा रु ९०, अण्डा प्रतिगोटाको रु १० र मासु प्रतिकिलो रु ३३० पर्ने बताउनुहुन्छ । अहिले बजारमा दानाको मूल्य रु ५३ देखि रु ६४ सम्म पर्ने गर्दछ ।

नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउनुहुन्छ । यस क्षेत्रमा रु एक खर्ब १५ अर्ब लगानी भएको उहाँको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैंकिङ लगानी रहेको छ ।

लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण शुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ३०५, मासु प्रतिकिलो रु ३८० र ब्रोइलर चल्ला रु ६५ एवं लेयर्स चल्ला रु ६० देखि ७० सम्म बिक्री गर्न शुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपछि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button