तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार मुक्त समाज निर्माणमा लागौंः मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार मुक्त समाज निर्माणमा लाग्न आग्रह सबैलाई गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयद्धारा आयोगको २९ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै सवै मिलेर भ्रष्टाचार न्युनिकरण गर्नुपर्ने वताउनुभएको हो ।

अहिले भ्रष्टाचारको उजागर भएको भन्दै उहाँले अख्तियारको कामलाई प्रभावकारी बनाइनुपर्ने वताउनुभएको छ । प्रदेश सरकार र आफुले सदाचारका काम पुरा गरिएको भन्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार मुक्त समाज निर्माण गरिनुपर्ने बताउनुभएको हो । कार्यालयमा आफुले पाएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीका लागि अहिले अख्तियार ठुलो हतियार भएको भन्दै उहाँले अख्तियार देखाएर कामै नगर्ने परिपाटी समेत मौलाएर गएको वताउनुभएको छ । यसले समृद्धिको अभियानलाई प्रभाव पार्ने हुनाले सहि काम गर्नेलाई कसै संग डराउनु नपर्ने समेत बताउनुभयो । कर्मचारीले आफ्नो दायित्व पुरा नगरेपनि भ्रष्टाचार हुने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले भ्रष्टाचार गर्ने जो कोहि भए पनि कार्बाही गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा पूर्व सांसद तथा भ्रष्टाचार विरुद्धको निगरानी संस्था चितवनका अध्यक्ष भिमबहादुर श्रेष्ठले भ्रष्टाचार न्युनिकरणमा राजनीतिक क्षेत्र र सरकारको नेतृत्व तहमा भएकाहरु लाग्नु पर्ने बताउनुभएको छ । उहाँले अख्तियारलाई कुनैपनि हालतमा कमजोर बनाउन नहुने समेत बताउनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयका प्रमुख शिबकुमार कार्कीले स्थानीय तहमा भ्रष्टाचार वढेको वताउनुभएको छ । आयोगको हेटौंडा स्थित कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १५ वटा स्ट्रीङ अप्रेसन गरेको उहाँले वताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट लगायतले भ्रष्टाचर मुक्त समाज निर्माणमा लाग्नु पर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button