तपाईँ सुन्दै हुनुहुन्छः

तीनै तहको सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्छ : पर्यटनमन्त्री लम्साल

तनहुँ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साले तीनै तहको सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनभएको छ ।

तनहुँको दमौलीमा गत माघ २० गतेदेखि सुरु भएको महर्षी वेदव्यासको १०८ फिट अग्लो मुर्ति निर्माणार्थ भएको श्रीमद् भागवत विराट ज्ञान महायज्ञको समापन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सो कुरा बताउनुभएको हो ।

‘संस्कृति बिना पर्यटन प्रवर्द्धन र सम्वृद्धि सम्भव छैन, तिनै तहका सरकार मिलेर पर्यटन प्रवद्घन गर्नुपर्छ ।’ मन्त्री लम्सालले भन्नुभयो ।

धार्मिक स्थलको संरक्षण गर्न गण्डकी प्रदेश सरकारले १ करोड ६० लाख रुपैयाँ तनहुँलाई छुट्टाएको मन्त्रि लम्सालले कार्यक्रममा जानकारी दिनुभयो । ’धार्मिक पर्यटन बढाउन वेदव्यासओ मुर्ति बन्नुपर्छ ।’ मन्त्रि लम्सालले भन्नुभयो ’प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्नेछौ ।’

दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको वेदव्यासको मूर्ति सहितको परियोजनालाई सहयोग रकम जुटाउन व्यास क्षेत्र शिव पाञ्चायन विकास समितिको आयोजनामा उक्त महायज्ञ भएको थियो । माघ २० गते देखि सुरु भएको महायज्ञमा अन्तिम दिन मंगलबारसम्म ३ करोड ५० लाख रकम संकलन भएको आर्थिक समितिका संयोजक मंगलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा करिव ७२ रोपनी क्षेत्रफललाई समेटेर व्यासको मुख्य मूर्तिसहित २७ वटा साना व्यासका मूर्ति, प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, धर्मशाला, प्रवचन हल, योग हल, सङ्ग्रहालय, वृत्तचित्र हल, पुस्तकालय, शौचालय, बगैँचाको , पुजारी घर लगायतका भौतिक संरचना निर्माण गर्न योजना रहेको छ ।

व्यास क्षेत्रलाइ धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्न करिब ६४ करोडको लागतमा परियोजना निर्माण गर्न लागिएको कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताउनुभयो । वेदव्यासको जन्मभूमि व्यास क्षेत्रलाई धर्म र पर्यटनको संगमस्थलका रुपमा विकास गर्न कोष लागिपरेको श्रेष्ठको भनाई छ । परियोजनामा १०८ फिटको व्यासको मूर्ति निर्माण गर्न जमिनको सतहबाट ४० फिट अग्लो र ८० फिट चाक्लो आधार तयार पारिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button