तपाईँ सुन्दै हुनुहुन्छः

दिपायल विमानस्थल कालोपत्र सम्पन्न

माघ-सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ ।

गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो । विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताउनुभयो ।

विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उहाँले जानकारी दिनुभयो । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचत सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो ।

करीब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ ।

विगतमा लक्ष्यअनुसार कालोपत्रको काम शुरु नहुँदा विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर कालोपत्रको काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button