तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको एमसिसी अध्ययन कार्यदलद्वारा पुनः दश दिन समय माग

रासस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ ।

कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गर्नुभएको हो । गत माघ १९ गते गठित अध्ययन कार्यदलको १० दिनको समय आज सकिएको हो ।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

कार्यदलका संयोजक खनालले अहिले एमसिसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताउनुभयो ।

उहाँले आफूहरुले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिनुभयो । कार्यदलले अहिले एमसिसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ ।

पार्टीको यही माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदलको बैठक यसबीचमा तीन पटक बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button