तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको नेतृत्वमा भएका सबै आन्दोलनलाई एक ठाँउ जोड्नु पर्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी– नेकपाका अध्यक्ष एंव पूर्वधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका सबै प्रकारका आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्ने बताउनुभएको छ ।

नेकपा केन्द्रीय कार्यालयले २५ औं जनयुद्ध र जनान्दोलन दिवसका अवसरमा विहिबार धुम्बाराहीमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा अध्यक्ष प्रचण्डले परिवर्तनका लागि मुलुकमा भएका सबै आन्दोलन एक आपसमा सम्वन्धित रहेको बताउनुभयो ।


अध्यक्ष प्रचण्डले हरेक आन्दोलनमार्फत् नयाँ पाठ सिक्दै मौलिक ढंगवाट सुरु गरिएका आन्दोलनहरु सफल भएका उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध सफल हुनुको पछाडि सही विचार र नेतृत्व भएको वताउनुभयो ।


अध्यक्ष प्रचण्डले मुलुकमा समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीले एक पटक फेरि मेहनत गर्नुपर्ने समय आएको पनि बताउनुभयो । कार्यक्रममा नेकपाका उपाध्यक्ष वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धाका माध्यमबाट समाजवाद स्थापना गर्ने अठोट सबैमा हुनुपर्ने वताउनुभयो ।

उपाध्यक्ष गौतमले माओवादीले सुरु गरेको जनयुद्ध नेपाली जनताको समृद्धिका लागि गरिएको उल्लेख गर्दै गल्ती सच्याउदै अघि बढने प्रतिबद्धता आवश्यक भएकोमा जोड दिनुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button