तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा भुकम्पपछी २५४ नयाँ विद्यालय पुनर्निर्माण सम्पन्न

मकवानपुर। मकवानपुरमा २०७२ सालको भुकम्पबाट क्षती भएका विद्यालय भवनहरुमध्ये २ सय ५४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । अन्य ७२ वटा विद्यालयको पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माण भएकामध्ये सबैभन्दा धेरै विद्यालय व्यवस्थापन समितिमार्फत् छन् । हालसम्म २०७ विद्यालय भवनको निर्माण सम्पन्न भएको छ । ४५ वटा विद्यालयका भवन निर्माणाधीन छन् । त्यस्तै, ७० वटा विद्यालयमा शौचालय पनि बनेका छन् ।

त्यस्तै, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) को ‘अफिसियल डेभलप्मेन्ट असिन्टेन्स–ओडिए’ ऋण सहयोगमा बन्ने निश्चित भएका ४१ वटा विद्यालयमध्ये २० वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अन्य २१ वटा विद्यालय पुनर्निर्माण भइरहेका छन् । जिल्ला आयोजना कार्यान्व्यन इकाई (शिक्षा) का आयोजना प्रमुख बद्री बहादुर पाठकका अनुसार मकवानपुरमा कुल ३५० वटा विद्यालय पुनर्निर्माण गर्नुपर्नेछ । यस जिल्लामा एसियाली विकास बैंकको ऋण सहयोगमा नमूना विद्यालयको पनि पुनर्निर्माण सम्पन्न भइसकेको छ । हेटौंडा उपमहानगरपालिका–१२ को जनप्रिय माध्यमिक विद्यालयमा ४८ वटा कोठाहरुसहितको विद्यालय भवन पुनर्निर्माण भएको हो ।

विभिन्न गैरसरकारी संस्थाले पनि मकवानपुरका क्षतिग्रस्त विद्यालय पुनर्निर्माणमा सहयोग गरेका छन् । एस्थर बेञ्जानिन्स्ले १० वटा विद्यालय र प्लान इन्टरनेशनले ६ वटा भवन निर्माण गरेको छ । त्यस्तै, युएसडी नेपालले पाँच, केयर नेपालले चार र कोसान नेपालले एउटा विद्यालय भवन निर्माणमा सहयोग गरेका छन् । युएसएडले यहाँ ६ वटा विद्यालय पुनर्निर्माण गर्दैछ । सम्पूर्ण विद्यालयको अवधारणामा निर्माण हुने यी विद्यालयमा आवश्यक सम्पूर्ण कक्षाकोठा, पुस्तकालय कक्ष, प्रयोगशाला, शौचालय तथा खानेपानीको व्यवस्था हुनेछ ।

यी संस्थाले मकवानपुरका १५३ विद्यालयमा ४३६ अर्धस्थायी खालका संरचना निर्माणमा पनि सहयोग गरेका थिए । २०७२ को भूकम्पबाट मकवानपुरका कुल ५ सय १६ विद्यालयमध्ये ४ सय ९ प्रभावित भएका थिए । कतिपय विद्यालयहरु भूकम्पबाट क्षतिग्रस्त भए पनि जग्गा अभावका कारण पुनर्निर्माण गर्न कठीनाई रहेको जिल्ला आयोजना कार्यान्व्यन इकाई (शिक्षा) का आयोजना प्रमुख पाठक बताउनुहुन्छ । त्यस्तै, केही दुर्गम स्थानमा बाटो नपुगेका कारण निर्माण गर्न नसकिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button