तपाईँ सुन्दै हुनुहुन्छः

स्वीकृतिबिनाका सबै प्रचार सामग्री हटाइँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका आठ हजार प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

पाँच वर्षअघि नै महानगरपालिकाले साइनबोर्ड र होर्डिङबोर्ड हटाउने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा शहर दिनानुदिन कुरुप देखिएको थियो । नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार त्रिपुरेश्वर–महाराजगञ्ज र माइतीघरदेखि बिजुलीबजार तथा त्रिपुरेश्वरदेखि थापाथलीसम्मका सडक किनारका होर्डिङबोर्ड हटाउने काम सकिएको छ । बागबजारदेखि रत्नपार्क, बालुवाटारदेखि डिल्लीबजारसम्मको पनि प्रचार सामग्री हटाउने कार्य सकिएको छ । हटाएकामध्ये ३७ ठूला प्रचार सामग्री रहेको छ ।

उहाँले भन्नुभयो, “चालू वर्षभरिमा महानगरपालिकाभित्रका स्वीकृतिबिना राखिएका सबै विज्ञापन बोर्ड हटाइन्छ ।” अहिले दैनिक चार टोली प्रचार सामग्री हटाउनका लागि निरन्तर लागिरहेका छन् । हाल कालिमाटीमा काम भइरहेको छ । महानगरका अनुसार दैनिक चार टोलीले दैनिक दुई सयबढीका दरले बोर्ड हटाउने काम भइरहेको छ । नीतिअनुसार महानगरपालिकामा दर्ता भएका व्यवसायीले मात्र साइनबोर्ड राख्न पाउँछन् । त्यस्तै एक व्यवसायीले एउटा मात्र साइनबोर्ड राख्न पाउने व्यवस्था छ । तर, व्यवसायीले महानगरको नीति कुल्चेर एकभन्दा बढी साइनबोर्ड राख्ने गरेका छन् ।

साइनबोर्डको अधिकतम साइज तीन फिट उचाइ र ३० वर्गफिट तोकिएको छ । बोर्ड राख्दा भिन्न–भिन्न ठाउँमा नराखी एकीकृतरूपमा ठाडो गरी राख्नुपर्ने समेत नीतिले निर्देशन गरेको छ । साथै सपिङ कम्प्लेक्स तथा व्यावसायिक भवनमा छुट्टाछुट्टै साइनबोर्ड नराखी एकै स्थानमा भर्टिकलरूपमा राख्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, घरको भित्ता, पसलमाथि, झ्याल छोपेर सार्वजनिक स्थानमा र छिमेकीलाई असर पर्ने गरी राख्न पाइँदैन । व्यावसायिक प्रचार सामग्रीको सन्दर्भमा डिजिटल राख्नुपर्ने महानगरको भनाइ छ । जसका लागि उचित ठाउँ पहिचान गरेर राख्नुपर्नेछ । सर्वोच्च अदालतले काठमाडौँभित्र होर्डिङबोर्ड नराख्न र राखेको भए हटाउन आदेश दिएको लामो समयपछि महानगरपालिकाले प्रचार सामग्री हटाउने कार्यलाई तीव्रताका साथ अघि बढाएको हो ।

विसं २०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होर्डिङबोर्ड निषेध गरेको थियो । महानगर क्षेत्रमा रहेका व्यावसायिक होडिङबोर्ड, भित्तेलेखन, पोष्टर, पम्प्लेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले गैरकानूनी हिसाबले राखिएका सबै प्रचार सागम्री हटाउने कार्यका लागि महानगर निरन्तर लागिरहेको बताउनुभयो ।

साना–ठूला गरी आठ हजार प्रचार सामग्री हटाए पनि महानगरले संस्था तथा व्यक्ति कसैलाई पनि कारवाही गरेको छैन । निकालिएका सबै सामग्री महानगरपालिले जफत गरेको छ भने आगामी दिनमा नराख्न कडा निर्देशन दिएको प्रवक्ता डङ्गोलले बताउनुभयो । बढी मात्रामा चावहिल, पुतलीसडक, नयाँबानेश्वर, कोटेश्वर, बागबजार, त्रिपुरेश्वर, कालीमाटीलगायत स्थानमा प्रचार सामग्री राखिएको पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button