तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच आज जेरुसलेममा भेटवार्ता भएको छ ।

त्यस अवसरमा मन्त्रीद्वयबीच लगानी, व्यापार र पर्यटन प्रवृद्र्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ । मन्त्री भट्टराईले नेपालको जलविद्युत्, होटल, क्यासिनो र कृषिक्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैँची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताउनुभयो । सुसारे सेवालगायत रेष्टुराँ र अन्य व्यापारिक क्षेत्रमा नेपालीले इजरायलमा सेवा प्रवाह गर्न सक्ने उहाँले जानकारी गराउनुभयो ।

इजरायलका राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको भन्ने खबरले आफू हर्षित भएको मन्त्री भट्टराईले बताउनुभयो भने दुवै देशका मन्त्रीले व्यापारिक समुदायको भ्रमण आदान प्रदान गराउन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

हाल नेपालले भ्रमण वर्ष २०२० आयोजना गरिरहेको सन्दर्भमा इजरायली मन्त्रीलाई यसै वर्ष नेपाल भ्रमण गर्न मन्त्री भट्टराईले अनुरोध गर्नुभयो । इजरायली मन्त्रीले पनि नेपाल भ्रमणको निमन्त्रणा सहर्ष स्वीकार गर्नुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button