तपाईँ सुन्दै हुनुहुन्छः

गुम्बामा पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो ! ‘हाम्रो गुम्बा कहिले बन्छ ?’

बनेपा। टनचोकका रामबहादुर तामाङले गुम्बामा पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो । सधैँ बिहान र बेलुका लामाको बाजागाजासहित मोलमपाठ गरेर पूजा गर्नुहुने उहाँ हिजोआज पहिलाको गुम्बाको भवन नजिकै बनाएको टहराभित्र गर्दै आउनुभएको छ ।

“भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणको कामलाई तीव्रता नदिँदा भूकम्पले क्षतिग्रस्त बनाएको गुम्बा पुनःनिर्माण हुन सकेको छैन । “आफैँले बनाउन पैसा छैन, बनाएन भने पूजापाठ गर्ने ठाउँ नै छैन”, गुम्बाका प्रमुख लामा रामबहादुरले भन्नुभयो, “के गर्ने भन्नेमा कुनै सोच बनाउन सकेको छैन ।” बनेपा नगरपालिका–३ टनचोकमा रहेको पेमा छ्योइलिङ गुम्बा जगैदेखि भत्किएको छ । भूकम्पले भवनको गाह्रो सबै भत्काएपछि जोखिमपूर्ण अवस्थामा रहेको गुम्बा पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयरले भत्काउन सुझाव दिएपछि अहिले गुम्बा भएको ठाउँमा गाह्रो लगाइएको ढुङ्गाको थुप्रो मात्रै रहेको छ ।

तात्कालीक जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकबाट २०६३ सालमा पेमा छ्योइली प्राथमिक विद्यालयको नाममा दर्ता गरेर बौद्ध शिक्षासमेत सञ्चालन गर्दै आएको सो गुम्बामा २५ जना विद्यार्थी अध्ययन गर्दै आएका थिए । विसं २०७२ को भूकम्पले भवन भत्काएर आफू बस्ने ठाउँ पनि नभएको र विद्यार्थीलाई राख्ने ठाउँसमेत नभएपछि नजिकै रहेको प्रभात आधारभूत विद्यालयमा लगेर भर्ना गरिदिएको र विद्यालय पनि त्यहीँ गाभिदिएको उहाँले बताउनुभयो ।

“अब गुम्बा बनाउन सक्ने अवस्थामा छैन”, उहाँले भन्नुभयो, “पहिला बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा सम्पर्क गर्दा सबै विवरण प्राविधिक कार्यालयमा पठाइएको छ । त्यहाँ पुगेर सबै समस्या राखेपछि त्यहाँबाट आएर हेरेर काम हुन्छ भन्ने आश्वासन मात्रै पाइएको छ ।” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा समेत पुगेर समस्या राख्दा पहिला शहरको ठूला गुम्बा हेर्ने र पछि गाउँका गुम्बालाई हेर्ने भन्ने आश्वासन मात्रै पाएको उहाँले गुनासो पोख्नुभयो । तत्कालीन अवस्थामा गाविसबाट सिफारिसका साथ पेश गरेको गुम्बाको कागजपत्र पुगेन भनेपछि पछिल्लो समयमा पुनः नगरपालिकाको वडा कार्यालयबाट आवश्यक सिफारिस र कागजात लगेर पेश गरेर राखेको भए पनि अझै कुनै प्रतिक्रिया नआएको प्रमुख लामा रामबहादुरले बताउनुभयो ।

नियमानुसार १०० वर्षभन्दा अगाडिको मठमन्दिर गुम्बा पुरातात्विक वस्तुअन्तर्गत पर्ने भएकाले सबै विवरण, गुम्बाको फोटो सबै पेश गर्नु भनेपछि पछिल्लो समयमा भनेका सबै कागजात र फोटोसमेत पेश गरेर राखेको भए पनि अझै केही प्रतिक्रिया नआएको उहाँको गुनासो छ ।

उहाँका अनुसार १८०१ सालमा स्थापना भएको गुम्बा अहिले २७६ वर्ष भयो । त्यसरी पुरानो गुम्बाको संरक्षण गर्नु राज्यको दायित्व भए पनि पटकपटक राज्यको निकायसम्म गएर हारगुहार गर्दा पनि बनाउन कुनै पहल नभएको स्थानीय बासिन्दा बताउँछन् । प्राधिकरणले भनेअनुसार सबै प्रमाण पेश गरेर राखे पनि अब हुन्छ होला भन्ने आश्वासन मात्रै पाएको बताउनुभयो ।

खानीखोला गाउँपालिका–६ स्थित शक्तिशुभ मङ्गल गुम्बाका प्रमुख लामा रामबहादुर लोप्चनले अझै भवन निर्माणको काम सम्झौता नभएको बताउनुभयो । “हाम्रो गुम्बा भवन नै निर्माण गर्नुपर्ने भएकाले अलि पछि मात्रै हुन्छ भन्ने कुरा भएको छ, त्यसैले अहिलेसम्म प्राविधिक कोही पनि आएको छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि पटकपटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको छु अझै पनि बजेट प्राप्त भएको छैन ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) काभ्रेपलाञ्चोकका निमित्त प्रमुख गणेश घिमिरेले भने आठ वटा गुम्बाको सम्झौता भइसकेको बताउनुभयो । “जिल्लामा २०७२ को भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणको काम अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो, “अरु पनि हुने क्रममा छन् ।”

जिल्लामा गुम्बा पुनःनिर्माणका लागि पाँच वटा समूहमा वर्गीकरण गरी ११२ वटा गुम्बा लाभग्राहीको सूचीमा सूचीकृत भएका छन् । तीमध्ये एक गे्रडमा २० वटा, दुई ग्रेडमा १३ वटा, तीन ग्रेडमा १५ वटा, चार ग्रेडमा १६ वटा र पाँच ग्रेडमा ४८ वटा गुम्बा परेका छन् ।

कार्यालयका अनुसार ग्रेड एकदेखि तीनसम्मको गुम्बा मर्मतमा मात्रै पर्ने र ग्रेड चार र पाँच को मात्रै पुनःनिर्माणमा पर्ने बताउनुभयो । तीमध्ये ग्रेड चार र पाँचमा पर्ने गुम्बाले मात्रै सम्झौता गरेर काम गर्न पाउने कार्यालयले जनाएको छ ।

बाँकीको हकमा सम्बन्धित गाउँपालिकाले लागत सहभागितालाई सुनिश्चित गरेर आएको खण्डमा ग्रेड र पहिलो गुम्बा निर्माण भएको प्रकृतिका आधारमा रकम पाउने व्यवस्था निर्धारण गरिएको जनाएको छ ।

घिमिरेका अनुसार त्यसरी आएका गुम्बाले एक ग्रेडको रु तीन लाख, दुई ग्रेडका लागि एक तलाको भए रु पाँच लाख र दुई तलाको भए रु १० लाख तथा तीन गे्रेडका लागि एक तलाका लागि रु १० लाख र दुई तलाभन्दा बढी भएमा रु २५ लाखसम्मको अनुदान पाउने व्यवस्था रहेको छ । चार र पाँच ग्रेडका गुम्बाको हकमा भने कस्तो प्रकृतिको बनाउने र कतिको बनाउने भन्ने निश्चित गरेर जति पनि लागतको बनाउन सकिने तर त्यसका लागि सम्बन्धित गुम्बा र प्राधिकरणले ५०÷५० प्रतिशत लागत व्यहोर्ने गरी पुनःनिर्माण गर्न सकिने जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button