तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा आजदेखि दादुरा रुवेला खोप अभियान शुरु

जनकपुरधाम । धनुषा जिल्लासहित प्रदेश नंं २ को एक सय ३६ पालिकामा आजदेखि दादुरा रुवेला खोप लगाउने अभियानको शुरुआत भएको छ ।

प्रदेश नंं २ को स्वास्थ्य सेवा निर्देशनालयले धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको भूतही स्वस्थ्य सेवा केन्द्रमा दादुरा रुवेला खोप कार्यक्रमको आज शुभारम्भ गरेको छ ।

खोप अभियानको शुभारम्भ प्रदेश नंं २ को सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले गर्नु भएको हो ।

खोप कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै यो अभियान राष्ट्रिय अभियान हुनुका साथै जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार भएकाले अभियानलाई सफल बनाउनका लागि सबैको साथ तथा सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रदेश नंं २ मा गरिबी, अशिक्षा तथा चेतनाको अभावका कारणले धेरै विषयमा पछाडि परेको बताउदै अब सबैमा सुधार गरेर अगाडि बढ्ने अभियानमा प्रदेश सरकारले सिमित श्रोत एवं साधनका बाबजुद पनि अगाडि बढेको बताउनुभयो ।

मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादवले यो अभियान हरेक नागरिकको अभियान भएकाले यसलाई सफल बनाउनका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

प्रदेश नंं २ को नौ लाख शिशु तथा बालबालिकालाई दादुरा रुवेलाका तथा आजै जन्मेको शिशुसहित पाँच वर्षसम्मकालाई पोलियो थोपासंँगै खुवाउने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहले जानकारी दिनुभयो ।

मिथिला बिहारी नगरपालिकाको वडा नंं १ का वडाध्यक्ष प्रमोद कुमार मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा उप निर्देशक विजयकुमार झासहितका बक्ताहरुले बोल्नु भएको थियो ।

मिथिला बिहारी नगरपालिकामा दादुरा रुवेला खोप लगाउने बालबालिकाको संख्या छ हजार तीन सय रहेका छन् ।

नौ महिना देखि पाँच वर्षका बालबालिकालाई दादुरा रुवेला तथा भरखरै जन्मिएका शिशुदेखि पाँच बर्षसम्मका बालबालिकालाई पोलियो थोपा पनिसँगसँगै खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

धनुषा जिल्लामा तीन चरणमा गरेर एक लाख १५ हजार सात सय ७० शिशु तथा बालबालिकालाई खोप दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई सफल बनाउनका लागि एक हजार २५ खोप केन्द्र तथा दुई हजार ५० जना स्वयंसेवक परिचालन गरेको छ ।

यसैगरी कार्यक्रमलाई सफल बनाउनका लागि एक सय १० जना सुपरभाईजर तथा १८ पालिकामा प्रमुखको संयोजकत्वमा पालिकाकास्तरीय अनुगमन समिति परिचलन गरिएको छ ।

पहिलो चरणमा धनुषा जिल्लाको धनौजी, औरही, जनकनन्दनी गाउँपालिका, विदेह, कमला, शहिदनगर, सबैला, धनुषाधाम तथा मिथिला विहारी नगरपालिकामा फागुन १ गते देखि ९ सम्म खोप दिने कार्यक्रम रहेको छ ।

यसैगरी दोश्रो चरणमा धनुषाको बटेश्वर, लक्ष्मीनिया, मुखीयापट्टी मुसनीया गाउँपालिका, नगराईन, क्षिरेश्वरनाथ, मिथिला, गणेशमानचानरनाथ नगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं १७ देखि २५ सम्म फागुन १५ देखि २३ गतेसम्म खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

अन्तिम तथा तेश्रो चरणमा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १ देखि १६ सम्म फागुन ३० गते खोप दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button