तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री पोखरेल   

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उहाँले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा सशस्त्र विद्रोहको कुशलतापूर्वक व्यवस्थापन गरिएको बताउनुभयो । संसारमा आन्तरिकसँगै बाह्य कारणले द्वन्द्व बढ्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसलाई आन्तरिकरुपमा एकबद्ध भएर समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालले विगतमा एक दशकसम्म सशस्त्र द्वन्द्वको अनुभव बटुलेको र त्यसको समाधान विश्वमै उदाहरणीय भएको उहाँको भनाइ थियो ।

नेपाली सेना ज्यानको बाजी थापेर संसार भरी खटिएको भन्दै रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले संयुक्त राष्ट्रसङ्घले समेत नेपाली सेनाको प्रशंसा गरेको उल्लेख गर्नुभयो । “सेनाको इतिहास सधैँभरि गर्व गर्न लायक रहेको छ”, उहाँले भन्नुभयो, “नेपाली सेना जहिल्यै पनि साधक रह्यो, बाधक बनेन् ।” दैवीप्रकोपका घटनामा सेनाले अह्म भूमिका निर्वाह गर्दै आएको उहाँले स्मरण गर्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न सेनाको भूमिका अह्म रहने उहाँले बताउनुभयो ।

“नेपाली सेनासित भएको अनुभव अन्य देशका लागि पनि उपयोगी हुन्छ”, उहाँले भन्नुभयो । उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चल्ने उक्त सेमिनारमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, सेनाको कमाण्ड तथा स्टाफ कलेजका शिक्षक तथा शिक्षार्थी अधिकृतसहित १९२ को सहभागिता रहेको छ । सेमिनारमा डा विष्णुराज उप्रेती, डा शम्भुराम सिंखडा र सांसद डा दीपकप्रकाश भट्टले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।   रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button